14, Jun, 2024

जसपा नेपालको एकता अधिवेशन : आज उम्मेदवारी दर्ता, महासचिवमा शर्माको दाबी

बागमती भ्वाइस
बागमती भ्वाइस
३० जेष्ठ २०८१, बुधबार ०८:२२ | १ दिन अगाडी

जनकपुरधाम । जनता समाजवादी पार्टी जसपा नेपालको एकताको महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ ।

महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन गर्न नेताहरू कसरत थालेका छन् ।

नेतृत्व चयनका लागि बिहान साढे ८ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुने महाधिवेशन प्रतिनिधि तथा मधेशका सांसद राजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारी परेपछि सहमतिको प्रयास गरिने नभए निर्वाचन गराउने तयारी छ ।

महासचिवमा उम्मेदवारी दिने शर्माको घोषणा

केहि दिनअगाडी मात्रै नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका संविधानसभा सदस्य रामकुमार शर्मा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवले पनि उनलाई महासचिव बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याएका थिए ।

महाधिवेशनबाट अध्यक्षमा पुनः दोहोरिने लगभग निश्चित छ । अशोक राईसहितका नेताहरू पार्टी विभाजन गरेर गएपछि चुनौतीविना यादव अध्यक्षमा दोहोरिनेछन् ।

सह-अध्यक्षको दाबेदार राजकिशोर यादव र लालबाबु राउत रहेको बुझिएको छ । ५ जना उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुई महासचिवमा शर्मा र मनिष सुमनलाई समेट्ने प्रयास भइरहेको एक नेताले सुनाए ।

उपमहासचिव, सचिव र कोषाध्यक्षका पनि धेरै नेताले लबिङ गरिरहेका छन् । ‘सबै पदाधिकारीमा प्रतिस्पर्धा हुने सम्भावना छु, एक नेताले भने, ‘म त चुनाव गराउनुपर्ने अवस्था देख्छु । हेरौँ के हुन्छ ।’

३० जेष्ठ २०८१, बुधबार ०८:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading