20, Jun, 2024

दुई दिनदेखि बन्द रहेको मेसिनको भुक्तानी दिने सहमतिपछि हुन थाल्यो नयाँ लाइसेन्स छपाइ

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ जेष्ठ २०८१, सोमबार १६:४० | १ हफ्ता अगाडी

काठमाडौं । २ दिनदेखि बन्द रहेको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चल्न सुरु भएको छ । गत शनिबारबाट भुक्तानी नदिएको भन्दै आयात कर्ताले मेसिन बन्द गरेको थियो । भुक्तानी दिने सहमतिपछि आज दिउँसोबाट नयाँ लाइसेन्स छाप्ने मेसिन सञ्चालनमा आएको हो ।

नयाँ कार्ड आएपछि सुरु भएको नयाँ लाइसेन्स १ लाख ५० हजार छापिएपछि वारेन्टीपछिको भुक्तानी माग्दै लाइसेन्स छाप्ने मेसिन नै बन्द गरिदिएको थियो । मेसिन आयात कर्तालाई मेसिन सञ्चालन भएको ३ वषेपछि २० प्रतिशत बाँकी रहेको भुक्तानी दिनु पर्ने छ ।

अहिले यातायात व्यवस्था विभागसँग भएको मास प्रिन्टरले दैनिक ४५ सय लाइसेन्स छाप्ने क्षमता छ । इटलीबाट आयात गरिएको ‘माटीका’ कम्पनीको यो मेसिनको ३ वर्षे वारेन्टी थियो । वारेन्टी सकिएपछि दिनुपर्ने भुक्तानी नदिएपछि लाइसेन्स प्रिन्ट प्रक्रिया बन्द गरेको थियो ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले २ दिन बन्द रहेको लाइसेन्स छाप्ने मेसिन सञ्चालनमा आएको बताए ।

उनले भने, ‘वारेन्टी सकिएपछि २० प्रतिशत भुक्तानी दिनु पर्ने हो । त्यही भुक्तानीका लागि आयात कर्ता कम्पनीले सफ्ट्वेयरबाट कन्टोल गरेर लाइसेन्स छाप्ने मेसिन बन्द गरेको थियो । कम्पनीसँग हामीले भुक्तानी गर्ने कुरा राखेपछि अहिले नयाँ लाइसेन्स छाप्ने काम भइरहेको छ । करिब १ करोड ५० लाख भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसका लागि हामीले भुक्तानीको लागि पैसा निकासीको पहल गरिरहेका छौं ।’

नयाँ कार्ड आएपछि विभागले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका यातायात कार्यालयमा लाइसेन्स प्रिन्ट गरेर पठाइसकेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको २०२२ डिसेम्बरसम्मको लाइसेन्स छपाइ भइसकेको छ । नेपालगञ्ज र दाङको लाइसेन्स छपाइ भइरहेको बेला मेसिन बन्द गराइएको छ ।

नेपालभर गरेर अहिले १६ लाख ट्रायल पास गरेका र नवीकरण गर्न दिएकाहरूले लाइसेन्स पाएका छैनन् ।

२८ जेष्ठ २०८१, सोमबार १६:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading