वि.सं.२०८१ चैत ६ बुधवार

सिंहदरबारमा कार्यदल बैठक जारी, सर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक

काठमाडौ । काठमाडौ उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति जुटाएका दलहरु कार्यक्षेत्रको विवादमा अल्झिएका छन्।

सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक सरेको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश दिउँसो २ बजेसम्मका लागि सारिएको संघीय संसद सचिवालयले जनाएको छ। महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सभामुख देवराज घिमिरेले आइतबार दिउँसो २ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक सारेका हुन्।

साथै राष्ट्रिय सभा बैठक पनि सरेको छ।

आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको बैठक अपराह्न ३ बजेर १५ मिनेटका लागि सारिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालको सचिवालयले जनाएको छ।

आइतबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठक पनि बसेको थियो।

सिंहदरबारमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नेसम्बन्धी कार्यदल बैठक बसिरहेको छ।

उक्त बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्र कार्की तथा कानुन मन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल पनि बैठकमा सहभागी छन्।

प्रमुख दलहरुहरुको शनिबार बसेको बैठकले सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने सहमति जुटाएको थियो।

समितिको कार्यक्षेत्र टुङ्गो लगाउन कानुन मन्त्री गिरीको संयोजकत्वमा कार्यदल बनाइएको थियो। संसदीय छानबिन समितिको क्षेत्राधिकारमा अनिवार्य रुपमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसको छ भने रास्वपा र एमालेले व्यक्ति तोक्न नहुने अडान राख्दा सहमति हुन सकेको छैन।

समितिको कार्यक्षेत्रको विवादले प्रतिनिधि सभाको बैठक पनि सारिएको हो।

कांग्रेस प्रमुख सचेतक लेखकले पहिले संसदीय समितिको कार्यक्षेत्रबारे सहमति हुनुपर्ने बताए।

‘हामी सदनमा गृहमन्त्रीजीका कुरा सुन्न तयार छौं। बोल्न दिने वा नदिने भन्ने हामीले भन्ने होइन, यो सभामुखले दिने कुरा हो,’ उनले भने, ‘संसदीय समिति बनाउने भनिएको छ तर कार्यादेश आइसकेको छैन। कार्यादेश नआइकन त सदनको कार्यसूचीमा हामी प्रवेश गर्दैनौं।’