वि.सं.२०८१ माघ २८ सोमवार

पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३३ वर्षका सुरेश कुमार र ३४ वर्षका मोहन कुमार गणेशन रहेका छन् । उनीहरु भारतीय नागरिक हुन् ।

गएराति विमानस्थल प्रहरीले चेक गर्ने क्रममा उनीहरुलाई सुनसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सुरेश कुमार र मोहन कुमारले लगाएको टी–सर्ट, पेन्टी र जिन्स पाइन्टमा लेपन गरिएको अवस्थामा सुन बरामद भएको थियो । सुरेश कुमारबाट बरामद सुन कपडासहित २ किलो ६०० ग्राम र मोहन कुमारबाट बरामद भएको सुन कपडासहित २ किलो ५०० ग्राम रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ को विमानबाट उनीहरु बेलुका पौने ७ बजे काठमाडौंमा ओर्लिएका थिए । भन्सार चेकिङबाट स्वागतद्वार नजिक शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Untitled