21, May, 2024

नेकपा एसलक्षित शंकर पोखरेलको टिप्पणी- नेतृत्वको गलत नीतिका कारण जुनसुकै बेलामा विद्रोह हुनसक्छ

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ बैशाख २०८१, मंगलवार ११:५८ | १ हफ्ता अगाडी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालभित्र विद्रोह गर्ने सांसदको संख्या बढ्नसक्ने बताएका छन्। ताप्लेजुङमा प्रेस चौतारी नेपाल गरेको पत्रकार सम्मेलनमा बोल्दै विद्रोह गरेका सांसदहरुको दाबीमा सच्चाइ रहेको बताए।

उनले भने, ‘जनता समाजवादीका सात जनाले त नयाँ पार्टी खोल्नु भएको छ। म ठान्दछु त्यो प्रक्रिया अझ बढ्ने छ। अहिले विद्रोही पक्षहरुले नै गरिरहेको दाबी भित्र सच्चाइ छ भन्ने मेरो बुझाइ हो। उहाँहरुले नै विद्रोह गर्नेको संख्या बढ्छ भन्नुभएको छ। जसपा मात्रै होइन अन्य राजनीतिक दलमा पनि नेतृत्व गलत बाटोमा लागेभने कार्यकर्ताले विद्रोह गर्छन्।’

उनले जसपाका सांसदहरुको विद्रोह सत्तारुढ दल नभइ उनीहरु आफैंले गरेको जिकिर गरे। नेतृत्वले गलत कदम चाल्दा पार्टीमा जुनसुकै बेलामा विद्रोह हुनसक्ने सबै पार्टीका नेतृत्वले बुझ्नुपर्ने बताए।

प्रतिनिधि सभामा १० सीट भएका माधव नेपालले प्रधानमन्त्री बन्छु भन्दै हिँडेको कुरालाई नेकपा एसका सांसदहरुले पनि नजिकबाट मुल्यांकन गरिरहेको जिकिर गरे।

‘अहिले पनि तपाईंहरुले देख्नुभएको छ एकीकृत समाजवादीका नेता मलाई प्रधानमन्त्री बनाउनुपर्छ म जसरी भएपनि प्रधानमन्त्री बन्दछु, म प्रधानमन्त्री बन्छु भनेर मान्छेलाई चिन्ता भएको छ, भनेर भन्दै हिँड्नुभएको छ। नेपालको राजनीतिमा १० सीट भएकाले प्रधानमन्त्री बन्न खोज्नु कत्तिको लोकतान्त्रिक हुन्छ भन्ने कुरा त्यही पार्टीका सांसदले पनि मूल्यांकन गरेका होलान्’ उनले भने, ‘पार्टी नेतृत्वले गलत नीति लियो भने विद्रोहको जोखिम जहिलेपनि रहन्छ भन्नेकुरा नेतृत्वले बुझ्न जरुरी हुन्छ। त्यो एकीकृत समाजवादीको हकमा पनि लागू हुन्छ।’

२५ बैशाख २०८१, मंगलवार ११:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading