14, Jun, 2024

उपेन्द्रलाई प्रधानमन्त्री प्रचण्डले भने, ‘फुट्नु राम्रो होइन, मिलेर जानुस्’

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ बैशाख २०८१, मंगलवार ११:२१ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारूढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल भएको छ।

मंगलबार बिहान उनीहरूबीच कुराकानी भएको हो। यादव उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री पनि छन्।

उनी अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल विभाजन भएर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो।

गए राति स्वदेश फर्किएका यादवले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन्। आफूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको यादवले जानकारी दिए। थप कुरा उनले खुलाएनन्।

प्रधानमन्त्री दाहालसँग यादवले आफ्नो दल विभाजन हुन पुगेको विषयमा कुरा गरेका थिए।

त्यसमा प्रधानमन्त्री दाहालले कुनै पनि दल फुट्नु राम्रो नहुने र सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु झन् राम्रो नभएको प्रतिक्रिया दिएका थिए।

‘दलहरू फुट्नु राम्रो होइन। झन् सत्ता गठबन्धनभित्रै रहेको दल जसपा नेपाल फुट्नु राम्रो होइन,’ प्रधानमन्त्रीले यादवसँग भनेका कुरा उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘कुनै पनि दल फुटाउन जोड गर्न हुन्न। म त मिलेर जानुपर्छ भन्छु। तपाईंहरू पनि मिलेरै जानुस्, आपसमा छलफल गर्नुहोस्।’

प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार विभाजन भएको थियो। अशोक राईसहित ७ जना सांसद मिलेर जनता समाजवादी गठन गरेका थिए। नयाँ दललाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको छ।

यादव नेतृत्वको जसपा नेपालले भने संसद अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा नयाँ दल दर्ता नहुने बताइरहेको छ। साथै उसले कानूनी उपचार खोज्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको जनाएको छ।

२५ बैशाख २०८१, मंगलवार ११:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading