वि.सं.२०८१ माघ २ बुधवार

भारतमा दोस्रो चरणको मतदान जारी, मैदानमा छन् राहुल गान्धीदेखि हेमा मालिनीसम्मका चर्चित अनुहार

एजेन्सी । भारतको लोकसभा चुनाव अन्तर्गत आज दोस्रो चरणको मतदान सुरू भएको छ।

विभिन्न १३ राज्यका ८८ सिटका लागि बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दोस्रो चरणमा एक लाख ६७ हजार मतदान केन्द्रमा १५ करोड ८८ लाख मतदाताले मतदान गर्नेछन्। मतदान बेलुका ६ बजेसम्म सञ्चालन हुने बताइएको छ।

असमका ५, बिहारमा ५, छत्तीसगढमा ३, जम्मू र कश्मिरमा १, कर्नाटकामा १४, केरलामा २०, मध्यप्रदेशमा ७, महाराष्ट्रमा ८, मणिपुरमा एक, राजस्थानमा १३, त्रिपुरामा १, उत्तर प्रदेशमा ८ र पश्चिम बंगालका ३ सिटका लागि आज मतदान हुँदैछ।

पहिलो चरणमा २१ राज्यका १०२ सिटका लागि वैशाख ७ गते मतदान भएको थियो।

मुख्य उम्मेदवारहरू को-को छन्?

राहुल गान्धी

राहुल गान्धी केरलाको वायनाडमा उम्मेदवार छन्। अघिल्लो निर्वाचनमा उत्तर प्रदेशको अमेठी र केरलाको वायनाडमा उम्मेदवार थिए। त्यसबेला अमेठीमा भाजपाकी स्मृति इरानीसँग पराजित भएपनि वायनाडमा विजयी भएका थिए।

यसपालि सिपिआइकी एनी राजा र भाजपाका के सुरेन्द्रन उनका प्रतिद्वन्द्वी छन्। एनी राजा सिपआइका महासचिव डी राजाकी श्रीमती हुन्। के सुरेन्द्रन भाजपाका केरला प्रदेश अध्यक्ष हुन्।

ओम बिर्ला

ओम बिर्ला लोकसभाका अध्यक्ष हुन्। उनी राजस्थानबाट चुनाव लड्दैछन्। उनका प्रतिद्वन्द्वीमा भारतीय कंग्रेसका प्रल्हाद गुन्जल छन्। प्रह्लाद भाजपाबाटै कंग्रेस गएका थिए। अघिल्लो वर्ष पनि बिर्ला सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

शशि थरूर

कंग्रेस आइका दिग्गज नेता शशि थरूर केरलाको तिरूवन्तपुरम सिटका उम्मेदवार हुन्। त्यहाँ उनी सन् २००९ देखि चुनाव जित्दै आइरहेका छन्। यसपालि भाजपाका संघीय मन्त्री राजीव चन्द्रशेखर त्यहाँ उम्मेदवार छन्। सिपिआईले पन्नियन रविन्द्रनलाई उम्मेदवार बनाएको छ।

हेमा मालिनी

उत्तर प्रदेशको मथुरामा भाजपाले यसपालि पुनः हेमा मालिनीलाई उम्मेदवार बनाएको छ। बलिउड अभिनेतृ हेमा मालिनीले त्यहाँ २०१४ देखि लगातार चुनाव जित्दै आएकी छन्।

२०१४ मा राष्ट्रिय लोक दल (आरएलडी)का जयन्त चौधरी र २०१९ मा गठबन्धन उम्मेदवार कुँवर नरेन्द्र सिंहलाई फराकिलो मतान्तरले पराजित गरेकी थिइन्।

यसपालि आरएलडीको समर्थन भाजपालाई छ। त्यहाँ कंग्रेसले मुकेश धनगरलाई उम्मेदवार बनाएको छ।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका पप्पु यादव रविन्द्र सिंह भाटिया पनि दोस्रो चरणका प्रमुख उम्मेदवार हुन्।

यादव बिहारको पूर्णिया र भाटिया राजस्थानको बाडमेरमा स्वतन्त्र उम्मेदवार छन्।