05, May, 2024

निर्वाचन आचारसंहिता विपरीत कार्य गर्नेलाई तत्काल कारबाही गर्न आयोगको तीन बुँदे निर्देशन

बागमती भ्वाइस
बागमती भ्वाइस
१३ बैशाख २०८१, बिहीबार १६:२५ | १ हफ्ता अगाडी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीतका कुनै कार्य वा गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र मर्यादामा आँच आउने अवस्था देखिएमा सम्बन्धित सुरक्षा निकायले अनुगमन तथा निगरानी गरी त्यस्ता व्यक्तिलाई तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन आयोगले तीन बुँदे निर्देशन दिएको आयोगले जनाएको हो ।

उपनिर्वाचन २०८१ का लागि जारी निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बमोजिम मतदान हुने दिन वैशाख १५ गते शनिवार भन्दा ४८ घण्टा अघि वैशाख १२ गते बुधवार राति १२ बजेदेखि प्रचारप्रसार गर्न निषेध भइसकेको आयोगका सहायक प्रवक्तासमेत रहेका उपसचिव रामदत्त पाण्डेयले जानकारी दिए ।

उनका अनुसार उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गराउन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ तथा निर्वाचन आचारसंहिता, २०७९ मा भएको व्यवस्था बाहेक अन्य विभिन्न कार्य नगर्न भन्दै आयोगले सम्बन्धित सबै सरोकारवालालाई तीन बुँदे निर्देशन दिएको हो ।

आयोगले तीन बुँदे निर्देशनमा निर्वाचनको सिलसिलामा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध गर्ने, थुनछेक गर्ने, डर, धाक, धम्की वा त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने कार्य नगर्न र नगराउन भनेको छ ।

निर्वाचन अधिकृत, मतदान अधिकृत वा निर्वाचनको काममा संलग्न कर्मचारी, पदाधिकारी, अनुगमनकर्ता वा सुरक्षाकर्मी वा आयोगले खटाएको पर्यवेक्षक वा सञ्चारकर्मी वा कुनै संस्थाले निर्वाचनको कुनै काम गर्दा कानून बमोजिम कुनै उम्मेदवारलाई आफ्नो मत दिन बाहेक निर्वाचनमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको काम नगर्न र नगराउन पनि भनेको छ ।

यस्तै उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर गर्न वा सार्वजनिक भोज आयोजना नगर्न र नगराउन र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मन्जुर गर्न र सार्वजनिक भोजमा सहभागी नहुन पनि भनेको छ ।

१३ बैशाख २०८१, बिहीबार १६:२५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading