वि.सं.२०८१ माघ १ मंगलवार

सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर छौं: प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।

‘विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौं अनुभवसहित यतिबेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौं। यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने छ,’ प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्।

उनले आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि भएको बताएका छन्।

यस्तै कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्न सकिने बताएका छन्।

‘कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव छ भन्ने निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो। यस दिशामा सम्पूर्ण वामपन्थी शक्तिहरू एवं सम्पूर्ण क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा म विश्वस्त छु,’ नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्डले भनेका छन्।