वि.सं.२०८१ माघ २ बुधवार

प्यालेस्टिनी विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौ । काठमाडौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिनी विद्रोही हमासको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै बन्धक बनाइएका नेपाली विद्यार्थीलाई फिर्ता ल्याउन पहल भइरहेको जानकारी दिएका हुन्।

अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणपछि हमासले नेपालका विपिन जोशीलाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

प्रधानमन्त्री प्रचण्डले मृत्यु भएकाहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकताका साथ निर्वाह गरेको पनि बताए।

‘अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा रहेका छन्, ‘ प्रधानमन्त्री प्रचण्डले भने, ‘उहाँलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ।’