काठमाडौं । काठमाडौंको आकाशमा वायुप्रदुषण बढ्दा हवाई उडान प्रभावित भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले चार वटा जहाज आकाशमा नै होल्ड भएका छन् । हङकङबाट आएको क्याथे प्यासिफिक, दिल्लीबाट आएको नेपाल एयरलाइन्स, दिल्लीबाटै आएको एयर इन्डिया र साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सले आकाशसमै फन्को मार्दै बसेका छन ।
प्रदुषणले जहाज अवतरणलाई चाहिने भिजिविलिटी नहुँदा उडान-अवतरण प्रभावित बनेको हो ।
त्रिभुवन विमानस्थलको धावनमार्गको भिजिविलटि अहिले मात्र १ हजार मिटर मात्र रहेको कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडौं आएको यति एयरको जहाजलाई जनकपुर पठाइएको छ । बुद्धको पोखरा, जनकपुर र राजविराजबाट आएको जहाजलाई समेत जनकपुर डाइभर्ट गरिएको छ ।
नेपालगञ्जबाट आएको बुद्धको जहाज भैरहवा पठाइएको छ । चन्द्रगढीबाट आएको सौर्य एयरको जहाज सोही विमानस्थलमा फर्काइएको छ । धनगढीबाट आएको श्री एयरको जहाज भैरहवा डाइभर्ट भएको छ ।









































