16, Jul, 2024

सडक आन्दोलनबाट पार नलागेपछि अस्पतालमै शव छोडेर हिँडे आफन्तहरू

Bagmati Voice
संवाददाता
७ बैशाख २०८१, शुक्रबार १४:०६ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी भीमा गुरूङको शव चैत २९ गतेदेखि शवगृहको फ्रिजमा छ।

घरमा हुँदा पेट दुखेको भन्दै उनी उपचार गराउन चैत २८ गते सुर्खेत झरेकी थिइन्। सोही दिन प्रदेश अस्पतालमा उपचारका लागि पुगेकी २२ वर्षकी भीमा यतै अस्ताइन्। आफन्तले उनको मृत्यु अस्पतालको लापरबाहीले भएको भन्दै अहिलेसम्म पनि बुझेका छैनन्।

एक सातासम्म सडक आन्दोलन र प्रशासन घेराउ गरेको भीमाका आफन्त बुधबारदेखि अस्पतालमै शव छोडेर फर्किएका छन्। उनीहरूले अस्पताल प्रशासनबाट उपचारमा संलग्न चिकित्सकलाई कारबाही र परिवारलाई उचित व्यवस्थापन नगरेसम्म शव नबुझेर अर्को चरणको आन्दोलन थालेका छन्।

चैत २८ गते भीमा दैलेखबाट सार्वजनिक बस चढेर सुर्खेत झरेकी थिइन्। सुर्खेत पुगेपछि उनी सुरूमा वीरेन्द्रनगर बजारको निजी मेडिकलमा जँचाउन गइन्। उनका आफन्तका अनुसार भीमाले आफूलाई पेट मात्र दुखेको र सामान्य जाँच गराएर फर्किने भनेर सुर्खेत झरेकी थिइन्।

उनले निजी अस्पतालमा जाँच गराउँदा पाठेघरमा केही समस्या देखिएको अस्पतालले सुनायो। त्यसपछि उनले प्रदेश अस्पतालमा गएर उपचार गराउने निधो गरिन्। भीमा आफन्तसँग हिँडेरै अस्पतालसम्म गएकी थिइन्।

प्रदेश अस्पतालमा भर्ना भइसकेपछि पनि पाठेघरमा समस्या भएको रिपोर्ट आयो। पाठेघर सफा गर्नुपर्ने अस्पतालको सल्लाहअनुसार उनका आफन्तले बिल काटे। उपचारका लागि विशेष कक्षमा लिएको केही घण्टापछि चिकित्सकले भीमालाई मृत घोषणा गरे।

उपचारका क्रममा मृत्यु भएकी भीमाका आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएका छन्।

‘पेट पनि सामान्य दुखेको भनेर हिँड्दै अस्पताल पुगेकी युवतीको एक्कासि मृत्यु हुनु भनेको साना लापरबाही होइन, केही समयमा घर फर्किने भनेर बाहिर कुरिरहेको हामीलाई एक्कासि मृत्यु भएको भनेर भनियो,’ भीमाका जेठाजु हर्क बलामीले भने, ‘घटनामा अस्पतालले आफ्नो लापरबाही स्वीकार्नुपर्छ, उपचारमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो अडान छ।’

भीमाले सात महिनाअघि पहिलो सन्तान जन्माएकी थिइन्। उनकी सात महिनाकी छोरी छन्।

छोरीको पोषण, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी अस्पताल वा सम्बन्धित निकायले नगरेसम्म शव नबुझ्ने उनका श्रीमान नवराज बलामीले बताए।

विभिन्न निकायमा पुगेर गरिएका धर्ना र सडकमा गरेको आन्दोलनले पार नलागेपछि शवगृहमै श्रीमतीको शव छोड्न बाध्य भएको उनले बताए।

‘अस्पतालको लापरबाही नै हो भनेर हामीले थाहा पाएका छौं, होइन भने सरकारले हाम्रो रोहबरमा छानबिन गरेर चित्तबुझ्दो प्रमाण हामीलाई दिनुपर्‍यो,’ उनले भने, ‘सरकारी पक्षबाट गल्ती भइसकेपछि सरकारले नै सन्तानको ग्यारेण्टी त लिनुपर्‍यो नि।’

भीमाका परिवारले उनकी छोरीको पोषण, स्वास्थ्य र शिक्षाको ग्यारेण्टीसँगै उपचारमा संलग्न भएका चिकित्सक तथा अरू स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।

‘हामीले मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन, जिल्ला प्रहरीसँग हाम्रा माग राखेर छलफल गरिसक्यौं, तर उहाँहरूले देशभरका यस्ता अस्पतालमा दैनिक बिरामीको मृत्यु हुन्छ, राहत वा क्षतिपूर्ति दिने कानुन नै छैन भनेर जवाफ दिनुहुन्छ,’ जेठाजु बलामीले भने, ‘तर हामी भने सुरूदेखि राख्दै आएका दुई वटा मागहरूबाट पछि हट्दैनौं, हामीले अस्पताल, प्रशासन घेराउदेखि सडकमा उत्रिनेसम्मका विभिन्न चरणका आन्दोलन गरिसकेका छौं, अब कति सडकमा कुद्ने भनेर शव अस्पतालमै छोडेर आफ्नो बासस्थानमा फर्किएका छौं। हाम्रा माग पूरा नभएसम्म हामी शव बुझ्दैनौं पनि।’

उनका अनुसार छलफलका क्रममा एउटा निष्कर्ष भनेको ‘बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरेर बालिकाको लागि उचित व्यवस्थापन गर्ने’ अनौपचारिक सहमति भएको छ।

प्रदेश अस्पताल प्रशासनले भने भीमाको मृत्युमा चिकित्सकको लापरबाही नभएको बताएको छ।

अस्पतालका अनुसार भीमा गर्भवती पनि थिइन्। उनी अस्पताल भर्ना हुँदा पाठेघरबाट रगत बग्ने समस्या थियो। उनको एक्सरे गर्दा पाठेघरमा सालको ट्युमर (मोलार प्रेगन्यान्सी) देखिएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

‘ट्युमरको उपचारका लागि सोही दिन प्रसूति वार्डमा भर्ना गरी विशेषज्ञ चिकित्सकको सल्लाहबमोजिम थप परीक्षण गरिएको र भोलिपल्ट एक पिन्ट रगत चढाएपश्चात पाठेघर सफा गर्नको लागि अपरेसन कक्षमा लगेर सफा गर्ने काम भइसकेको अवस्थामा बिरामीमा मोलार प्रेगनेन्सीको जटिल समस्या पल्मोनरी इम्बोलिज्म (फोक्सोको धमनीमा रक्तप्रवाहलाई रोक्ने रगतको थक्का) देखा परेको थियो,’ अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सोको पहिचान गरी चिकित्सकको टिमले बचाउने प्रयास गर्दागर्दै महिलाको मृत्यु हुन गएको हो।’

भीमाको शवको पोष्टमर्टम पनि भएको छैन।

‘उहाँहरूले शव बुझ्नुभएको छैन, पोष्टमर्टम गर्ने सहमति पनि दिनुभएको छैन,’ अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने, ‘आफन्तहरू घर फर्किनुभयो भनेर हामीले समाचारमा पढेको हो, युवतीको शव भने हाम्रो शवगृहकै फ्रिजमा राखिएको छ।’

आफन्तले छानबिन गर्नुपर्ने माग राखेकाले माथिल्लो निकायबाट हुने छानबिनमा अस्पताल तयार रहेको उनले बताए।

‘उहाँहरूले हामीलाई आरोप लगाउनुभएकोले हामी आफैंले आन्तरिक रूपमा छानबिन गर्ने कुरा भएन, माथिल्लो निकाय वा मन्त्रालयले समिति गठन गरेर हामीमाथि छानबिन गर्छ भने पनि हामी तयार छौं।’

७ बैशाख २०८१, शुक्रबार १४:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading