सिमकोट । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले एमालेले अघि सारेको समृद्धिको मार्गमा देश हिँडिरहेको जिकिर गरेका छन् ।
एमाले हुम्लाको अधिवेशन उद्घाटन गर्दै बोगटीले भने, ‘देशको सत्ता गठबन्धन मात्र फेरिएको होइन, देशको समृद्धिको रेखा कोर्ने वामपन्थीहरुको बाहुल्यता रहेका शक्तिहरू सरकारमा सहभागी रहेका कारण वर्तमान सत्ता गठबन्धनका रुपमा समेत अघि बढेको हो । देशका लागि भरपर्दो नीति र योजना बनाउने पार्टी एमाले भएको उल्लेख गर्दै उनले पार्टीका केही कमजोरीले गत निर्वाचनमा दोस्रो हुन पुगेको बताए ।
एमाले जिल्ला इन्चार्ज नागेन्द्र शाही नेशनलले एमाले आमा र बुवाको प्यारो पार्टी भए पनि छोराछोरीहरूका कारण पहिलो पार्टी बन्न नसकेको बताए ।‘हुम्लाबाट पटक-पटक निर्वाचित भएका सांसदहरूको जीवनशैली अनपेक्षित रूपमा परिवर्तन भयो तर हुम्लीहरुको अवस्था जहाँको त्यही छ’ उनले भने हुम्लाको समृद्धि र सर्वोपरि विकासको नेतृत्व एमाले बाहेक अन्य पार्टीको विकल्प हुन सक्दैन ।’
कर्णाली प्रदेश कमिटी सदस्य नवराज महताराले जिल्लाका सातवटै स्थानीय तहमा प्रतिपक्ष भएकै कारण विकासमा बेथिति बढ्दै गएकाले आसन्न २०८४ को निर्वाचनमा तिनै तहका सरकारमा एकल बहुमतको विकल्प नभएको उल्लेख गरे ।
‘हुम्लाको विकास खर्च ८ लाख बढी भए पनि वास्तविक विकास नहुनुको एक मात्रै कारण एमाले नेतृत्वको सरकार नहुनु हो’ उनले भने, ‘हुम्लामा आउने बजेट अनुसारको परिणाममुखी विकास गर्नका लागि एमालेको विकल्प छैन ।’