30, Apr, 2024

गण्डकीमा मन्त्रालय टुक्रियो, मन्त्रालयको सङ्ख्या ९ पुग्यो

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १५:३१ | २ हफ्ता अगाडी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो कार्यकालमा १२ वटा मन्त्रालय गाभेर ७ बनाएका थिए । उनले हरेका कार्यक्रम र संसद् बैठकमा पनि यो विषयमा गर्वका साथ बोल्ने र भाषण गर्ने गरेका थिए । उनले भन्दै आएका थिए, ‘प्रदेशको सामर्थ्य अनुसारको मन्त्रालय बनाएँ ।’

हेको गण्डकीमा पछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टुक्र्याएर ११ वटा मन्त्रालय बनाएका थिए । यस्तै कृष्णचन्द्र नेपाली पोखरेलले अझै टुक्र्याएर १२ बनाए । प्रदेशसभाको दोस्रो कार्यकालमा निर्वाचित भएर आएपछि पहिलो मुख्यमन्त्री खगराजले सङ्ख्या घटाएका हुन् ।

तर दोस्रो कार्यकालमा मुख्यमन्त्री बन्दा उनै खगराजले सङ्ख्या बढाइदिएका छन् । सरकारका प्रवक्ता हरिबहादुर चुमानका अनुसार मंगलबारको मन्त्रीपरिषद् बैठकले मन्त्रालय टुक्र्याएर ९ पुर्‍याउने निर्णय गरेको छ । सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्य मन्त्रालय टुक्रिएको छ भने मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालय निकालिएको छ ।

‘सामाजिक विकास तथा स्वास्थ्य एउटै मन्त्री भएपछि दुईतिरबाट मन्त्रालय चलेको थियो । मन्त्रालय सामाजिक विकास बढी स्वास्थ्य कम भइरहेको थियो,’ चुमानले भने, ‘अहिले मिल्दो बनाऔँ भनेर टुक्र्याइदिएका हौँ । राम्रै निर्णय गरेका हौँ ।’ मन्त्रालय टुक्र्याएपछि बाँडफाँट भने भैसकेको छैन । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रालयको भागबण्डा मिलाउने उनले बताए ।

२९ चैत्र २०८०, बिहीबार १५:३१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading