08, Oct, 2024

गुटबन्दी मौलाएको भन्दै ओखलढुंगा पूर्वअध्यक्षले गरे एमाले परित्याग

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ चैत्र २०८०, बिहीबार १०:३७ | ६ महिना अगाडी

काठमाडौ । काठमाडौ नेकपा (एमाले) ओखलढुंगाका पूर्वजिल्ला अध्यक्ष शंकर कटवालले पार्टी परित्याग गरेका छन्।

दसौं जिल्ला अधिवेशनको दौरानमा नेतृत्वको पक्षधरता र गुटबन्दी देखिएको भन्दै उनले एमाले त्यागेको घोषणा गरेका हुन्।

‘दसौं जिल्ला अधिवेशनमा जे–जस्ता रवैया र गतिविधिहरू देखिए। जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो। नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो। मेरो ३४ वर्षको राजनीति जीवनमा यस्तो विधि र पद्धतिविहीनता अनुभूति गरेको थिइनँ। अराजनीतिक कार्यशैलीले न पार्टी बन्छ, न राजनीतिकर्मीको भविष्य बन्छ, न ओखलढुंगेली जनताको न्याय गर्न सकिन्छ, न त राजनीति न्याय स्थापित नै गर्न सकिन्छ। यही कुरालाई महसुस गरी मैले ओखलढुंगा जिल्ला पार्टी इन्चार्ज खगेन्द्र राईमार्फत् चैत २७ गते नै पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु,’ उनले भनेका छन्।

उनले मंगलबारबाटै एमालेमा नरहेको जानकारी दिएका छन्। बुधबार एमाले ओखलढुंगाको अधिवेशन सकिएको थियो। चुनावबाट नयाँ नेतृत्व छानिएको थियो।

दसौं अधिवेशनबाट अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका थिए। खड्काले १४४ र राईले १३१ मत ल्याए। अध्यक्षका अर्का उम्मेदवार तारा कार्कीलाई ३ मत प्राप्त भएको थियो।

उपाध्यक्षमा कमलप्रसाद न्यौपाने विजयी भएका थिए। झम्कहरी बडाललाई ९५ मतले पराजित गर्दै न्यौपाने विजयी भएका थिए।

सचिवमा अशोक थापा निर्वाचित भएका थिए। त्यस्तै दुई उपसचिवमा राजिव कटवाल र अस्मिता थापा विजयी भए।

अध्यक्षमा निर्वाचित भएका ज्ञानबहादुर खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरूङ र निवर्तमान उपाध्यक्ष तथा संविधान सभा सदस्य रहेका हर्कबोल राईलाई केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य यज्ञराज सुनुवारको समर्थन थियो।

निर्वाचित अध्यक्ष खड्का प्यानलबाट उपाध्यक्ष, सचिव र एक उपसचिव कटवालले जिते। राई प्यानलबाट पदाधिकारीमा एक उपसचिव थापा निर्वाचित भएकी हुन्।

२९ चैत्र २०८०, बिहीबार १०:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading