30, Apr, 2024

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तविरुद्ध कांग्रेसले दियो रिट

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार १८:०७ | २ हफ्ता अगाडी

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मंगलबार पूर्वमुख्यमन्त्री सुरेन्द्र पाण्डेका तर्फबाट वरिष्ठ अभिवक्ता सिताराम केसीले मुद्दा दायर गराएका हुन् ।

गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता पाण्डेले पार्टी निकट नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन (डीएलए)का अध्यक्ष केसीमार्फत मुख्यमन्त्री अधिकारीको नियुक्तविरुद्ध मुद्दा दायर गराएका छन् ।

पाण्डेले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ गते ३ बजेसम्मका लागि बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले दिएको समय बाँकी छँदै खगराजले आइतबार बिहान दाबी पेस गरेका थिए ।

सभामुख कृष्ण धितालसमेतलाई गणना गरेर दाबी पेस गरेका अधिकारीलाई एमाले पृष्ठभूमिका प्रदेश प्रमुख भट्टले तत्काल मुख्यमन्त्री नियुक्त गरेका थिए ।

चैत २७ सम्म कामचलाउ सरकारको जिम्मा पाण्डेलाई नै दिइएको भन्दै त्यसमा पनि अन्तरिम आदेशको माग गरिएको छ । यस्तै दायर रिटमा संविधानको धारा १६८ को ३ अनुसार मेरो नामको परमादेश जारी गरिपाऊ भनी पाण्डेले माग गरेका छन् ।

२७ चैत्र २०८०, मंगलवार १८:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading