22, Jul, 2024

कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने आज अन्तिम दिन, अझै छलफलमा एमाले–माओवादी

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ चैत्र २०८०, मंगलवार ०९:०७ | ३ महिना अगाडी

काठमाडौ । काठमाडौ कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने मंगलबार अन्तिम दिन हो।

प्रदेश प्रमुखले चैत २१ गते मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको सात दिनको समय मंगलबार सकिँदैछ। नेकपा माओवादी केन्द्रबाट यसअघि मुख्यमन्त्री रहेको राजकुमार शर्माले चैत २१ गते पदबाट राजीनामा दिएका थिए।

केन्द्रमा भएको सत्ता समीकरण र प्रदेशको भागबन्डामा गठबन्धन दलको शीर्ष नेतृत्वबीच भएको सहमतिका आधारमा शर्माले पदबाट राजीनामा दिएका थिए।

केन्द्रमा सत्ता गठबन्धन दलबीच कर्णालीमा सरकारको नेतृत्व एमालेले गर्नुपर्ने सहमति भएको थियो। सोही अनुसार चैत २२ गते नै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीका लागि दावी पेश गर्ने तयारी थियो।

तर सत्ता छोडेका नेकपा माओवादीले शर्त राख्न थालेपछि अन्तिम दिनसम्म पनि दाबी पेश हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले आफूले नेतृत्व छोडेपछि प्रदेश सभाको सभामुख र महत्त्वपूर्ण चारवटा मन्त्रालय आफ्नो भागमा हुनुपर्ने माग गरेको छ।

माओवादी र एमालेबीच कुरा नमिल्दा अन्तिम दिनसम्म पनि मुख्यमन्त्रीका लागि दाबी पेश गर्न नसकिएको हो।

‘माओवादीले सभामुखको माग गर्नुभएको छ, यो संवैधानिक कुरा भएकाले यसमा माथिल्लो तहबाटै सहमति गरेर आउनुपर्थ्यो, यहाँ दाबी पेश गर्ने समयमा उठाइयो,’ एमाले सांसद जीतबहादुर मल्लले भने, ‘अर्को कुरा माओवादीले चारवटा महत्त्वपूर्ण मन्त्रालय पनि माग गरेको छ, माओवादीका तर्फबाट व्यावहारिक सहकार्य भन्दा पनि पावर सेयरिङमा बार्गेनिङ जस्तो भयो।’

मंगलबार दाबी पेश गर्ने अन्तिम दिन भएकाले जसरी पनि यसमा दुवै दलबीच सहमति हुनुपर्ने उनले बताए। पछिल्लो सत्ता समीकरणअनुसार कर्णालीमा निर्णायक दुबै दलले संसदीय दल नेतालाई छलफल र निर्णय गर्ने जिम्मा दिएको मल्लले बताए।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक रणसिंह परियारले माओवादीका माग सम्बोधन गरेर एमालेले मुख्यमन्त्रीमा दाबी पेश गर्नुको विकल्प नरहेको बताए।

‘सरकारको नेतृत्वका लागि हामीले बाटो खोलिदिएका नै छौं, तर मागमा भने हामी अडिग छौं,’ परियारले भने, ‘हाम्रा मागलाई सम्बोधन गरेर एमालेले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुको विकल्प छैन।’

दुई दलबीच कुरा मिलेमा आज एमालेका यामलाल कँडेलले संविधानको धारा १६८ को उपधारा २ (१) बमोजिम आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुसमक्ष दाबी पेश गर्नेछन्।

२७ चैत्र २०८०, मंगलवार ०९:०७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading