03, May, 2024

सांसद गिरीको कारबाहीबारे जानकारी छैन : नेता चौधरी

बागमती भ्वाइस
बागमती भ्वाइस
२६ चैत्र २०८०, सोमबार १७:४० | ३ हफ्ता अगाडी

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सांसद इन्दिरा गिरीलाई गरिएको कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् । कानुनतः कारबाही सिफारिस गर्ने अधिकार संसदीय दललाई रहेको बताउँदै नेता चौधरीले गिरीलाई पदमुक्त गरिएको प्रदेश सभा सचिवालयको सूचनाबारे जानकारी नभएको बताएका हुन् ।

सुदूरपश्चिम सभामुख भीमबहादुर भण्डारीले भने नाउपाले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाउन भनी प्रदेशसभा सचिवालयलाई पत्रचार गरेपछि पदमुक्त भएको सूचना प्रकाशित गरेको बताए । समानुपातिक सांसदको हकमा कारबाहीको अधिकारको अधिकार पार्टीलाई रहेको हुँदा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को ३५ बमोजिम पदमुक्त गरिएको सूचना टाँस गरिएको सभामुख भण्डारीले बताए ।

उता दलको नेता चौधरीले सभामुख भण्डारीले मनलाग्दी गरेको दाबी गरेका छन् । राजनीतिक दल सम्बन्धी ऐन कै दफा ३४ अनुसार कुनै पनि सांसदलाई दलबाट निष्कासित गरिएको जानकारीसहितको निर्णय संसदीय दलले सम्बन्धित सभालाई दिनुपर्ने बताउँदै सभामुखले मनलाग्दी गरेको बताएका हुन् । अब कानुनी प्रक्रियाको विकल्प नरहेको पनि उनको भनाइ छ ।

नाउपाभित्र यतिबेला विवाद चर्किएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी संरक्षक रेशमलाल चौधरी पक्षधर मानिने समानुपातिक सांसद गिरीलाई पार्टीको हित विपरीत गएको भन्दै चैत्र २१ गते गिरी कारबाहीको पत्र प्रदेश सभा सचिवालयमा पेस गरेकी थिइन् ।

२६ चैत्र २०८०, सोमबार १७:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading