वि.सं.२०८३ भदौ २५ बिहीवार

त्रियुगाका सामुदायिक वनमा डढेलो, सनुवागाउँ उच्च जोखिममा

khanepani

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १ स्थित नवउदय सामुदायिक वन र वडा नं २ स्थित सनुवा सामुदायिक वनमा आगो लागेको छ । दुबै सामुदायिक वनमा सोमबारदेखि डढेलो लागेको हो । डढेलोका कारण सनुवागाउँ उच्च जोखिममा परेको छ ।

डिभिजन वन कार्यलय उदयपुर गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहका अनुसार त्रियुगा नगरपालिका २ स्थित चुरे क्षेत्रको सनुवा सामुदायिक वनमा अचानक डढेलो लागेपछि अहिले चुरे क्षेत्र आसपासका ५० घरसहित सनुवागाउँ उच्च जोखिममा परेको छ ।

सोमबार साँझदेखि सनुवा सामुदायिक वन क्षेत्रमा शुरु भएको डढेलो बुधबार दिउँसोसम्ममा नियन्त्रणमा आउन सकेको छैन । हावाहुरी चलेका कारण आगो नियन्त्रणमा लिन कठिन भइरहेको स्थानीवासी बताउँछन् ।

सनुवा चुरे क्षेत्रको १५० हेक्टर क्षेत्रफल आसपासमा डढेलो फैलिएपछि सनुवागाउँ डढेलोको चपेटामा परेको डिभिजन वन कार्यालय उदयपुर गाईघाटले जनाएको छ ।

सनुवागाउँ क्षेत्रमा डढेलो आउन शुरु गरेपछि बुधबार साँझदेखि गाउँ बचाउनका लागि नेपाली सेना, जिल्ला प्रहरी, सशस्त्र प्रहरीसहित वनका कर्मचारी र उभभोक्तासहित ४०० भन्दा बढी जनशक्तिले डढेलो नियन्त्रणमा लिने प्रयास शुरु गरिएको डिभिजन वनका सूचना अधिकृत साहले बताए ।

बुधबार साँझदेखि रातभरि नै सुनुवा क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय उपभोक्तासमेत डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ । रातभरि डढेलो नियन्त्रणका प्रयास गरेपनि तीव्र हावाहुरीका कारण समस्या भइरहेको डिभिजन वन कार्यलय गाईघाटले जनाएको छ ।

सोमबारदेखि त्रियुगा नगपालिका ११ नवउदय सामुदायिक वनमा लागेको डढेलो अहिले २०० हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको छ । तीव्ररूपमा हावाहुरी चलेका कारण डढेलो छिटो फैलिएको स्थानीयवासीको भनाइ छ ।

त्रियुगा नगरपालिका–११ स्थित चपनगाउँसमेत डढेलोको जोखिममा परेको छ भने यस क्षेत्रमा समेत गए रातिदेखि नै नेपाली सेना, प्रहरी र स्थानीय उपभोक्ता डढेलो नियन्त्रणमा लागिरहेको डिभिजन वन कार्यालय गाईघाटले जनाएको छ ।

डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ ।

हिउँदमा झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । वनमा लगाइने आगोले पार्ने दीर्घकालीन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ ।

ranechhap