वि.सं.२०८३ साउन ३० शनिवार

केपी शर्मा ओलीले राप्रपा सांसदलाई भने, ‘गण्डकीमा साथ दिनुस्, जे-जे गर्नुपर्छ तयार छौं’

khanepani

पोखरा । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशमा गठबन्धनको सरकार बनाउन निर्णायक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरूसँग छलफल गरेका छन् ।

चैत २१ गते राप्रपा केन्द्रीय पदाधिकारीको बैठकले एमाले–माओवादीको गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेपछि गण्डकीमा नयाँ सरकार बन्न सकस भइरहेको छ ।

एमाले कास्कीमा निर्वाचित कमिटीको शपथ कार्यक्रममा जानुअघि ओलीले शुक्रबार पोखराको माउण्ट कैलाश रिसोर्टमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसँग वार्ता गरेका छन् ।

राप्रपाले सत्तागठबन्धन बाहिरको दललाई समर्थन गर्न सक्ने संकेत गरेपछि एमाले–माओवादी गण्डकीमा सशंकित छ । ओलीले यसअघि खगराज अधिकारी नेतृत्वको सरकारमा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीसमेत रहेका तमुलाई भेटेर गठबन्धनलाई सहयोग गर्न र मिलेन जान आग्रह गरेका हुन् ।

ओलीले भेटेर यसअघि पनि सँगै बस्दा गण्डकीमा धेरै राम्रो काम भएको र अब पनि मिलेर जाँदा धेरै काम हुन सक्ने बताएको पञ्चरामले जानकारी दिए ।

ओलीले सहकार्यको आग्रह मात्रै गरेनन्, बरु जे–जे गर्दा मिलेर जान सक्ने वातावरण बन्छ, त्यो गर्न तयार रहेको बताए । एमाले गण्डकीका नेताहरूले यसअघि राप्रपालाई मुख्यमन्त्री नै पनि दिन तयार रहेको बताएका थिए । ‘गण्डकीका नेता साथीहरुले हाँसो गर्दै बरु नेतृत्व नै लिनुस् तर सँगै जाऔं भन्नुभएको हो तर त्यो हाम्रो रुचिको विषय होइन,’ तमुले भने, ‘ओलीले नेतृत्वकै कुरा त गर्नुभएन तर हामी सँगै भयौं भने धेरै काम गर्न सक्छौं भन्नुभयो ।’

ओलीले देशलाई अहिलेको जटिलताबाट निकाल्नुपर्ने बताएका थिए । त्यसका लागि एक भएर जानुको विकल्प नभएको उनको भनाइ थियो ।

‘एमालेका नेताहरूले ओलीजीले भेट्न चाहनुभएको छ भनेपछि भेटेको हुँ । केहीबेर कुरा ग¥यौं । उहाँले सहकार्य गरेर जाऔं, केके गर्न सकिन्छ गरौं भन्नुभयो,’ तमुले अनलाइनखबरसँग भने, ‘देशका लागि भए पनि मिलौं भन्नुभयो ।’

६० प्रदेश सभा सदस्यमध्ये एमाले २२ र माओवादीको सभामुखबाहेक ७ जना रहेको गण्डकीमा २ सदस्य रहेको राप्रपाले साथ दिनेबित्तिकै सरकार बनाउन बहुमत संख्या ३१ पुग्छ ।

माओवादी चुनाव चिह्नबाट विजयी भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्ने त्रास पनि गठबन्धनभित्र उत्तिकै छ । फणिन्द्रले फ्लोर क्रस गरे भने राप्रपाले साथ दिए पनि गठबन्धनको सरकार बन्ने स्थिति हुँदैन ।

ओलीले राप्रपालाई साथ दिन आग्रह गर्दै अरू कुरा मिलाउने जिम्मेवारी आफ्नो भएको बताएका थिए । २७ सदस्य रहेको कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङबाट स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार मन्त्री बनाएर आफ्नो साथमा लिएका थिए ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले सत्तागठबन्धन बाहेकको दलसँग सहकार्य गर्न सकिने बताएपछि मुख्यमन्त्री पाण्डे निरन्तर छलफलमै छन् । मनाङे, राप्रपा र नेसपाका फणिन्द्रले फ्लोर क्रस गरिदिए कांग्रेस सरकारको बहुमत पुग्छ ।

सत्ता गठबन्धनलाई साथ नदिने हो भने कांग्रेसलाई समर्थन नगरी तटस्थ बस्न ओलीले राप्रपासँग आग्रह गरेको स्रोतको दाबी छ । तमुले आफूले मात्र चाहेर नहुने केन्द्रीय नेतृत्वको निर्णयबाटै चल्ने बताएको जानकारी दिए ।

‘यसै पनि अहिले हामी आन्दोलनमा छौं । मेरो चाहनाले मात्रै भएन, केन्द्रीय नेतृत्वले निर्णय नै गरिसकेको छ,’ तमुले भने, ‘हामी अनुशासित छौं, नेतृत्वको निर्णय शिरोपर गरेर हिंड्छौं । नेतृत्वबाटै निर्देशन आए आफू साथ दिन तयार छु भनेर मैले जवाफ दिएँ ।’

चैत २७ गतेको आन्दोलनको कार्यक्रमका कारण राप्रपा सत्ताकेन्द्रित गतिविधिमा सहभागी नहुने बताएपछि संसदमा विश्वासको मत पाउने स्थिति नदेखेर मुख्यमन्त्री पाण्डेले २१ गते राजीनामा दिएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार गठन गर्न आह्वान गर्दै २७ गते ३ बजेसम्मको समय दिएका छन् ।

१६८ (२) बमोजिम कसैको पनि बहुमत पुग्ने स्थिति बन्ने र उपधारा ३ बमोजिम ठूलो दलको नेताका हैसियले मुख्यमन्त्री नियुक्ति हुने योजना पाण्डेको छ । तर आफू पनि २ बमोजिम नै सरकार बनाउन लाग्ने पाण्डेले बताएका छन् ।

ranechhap