16, Jul, 2024

इजरायली प्रधानमन्त्री नेतेन्याहुलाई बाइडेनको चेतावनी- अमेरिकाले नीति परिवर्तन गर्न नपरोस्

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ चैत्र २०८०, शुक्रबार ०९:१३ | ३ महिना अगाडी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इसराइललाई हमासविरूद्धको लडाईंमा सहयोग नगर्न सक्ने चेतावनी दिएको छ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले गजामा त्यहाँका नागरिकहरूसँगै मानवीय सहायता लिएर जानेहरूको सुरक्षा सुनिश्चित नगरेको भन्दै इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुलाई आगामी दिनमा अमेरिकी सहयोग नहुन सक्ने चेतावनी दिएका हुन्।

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार राष्ट्रपति बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग आधा घन्टा टेलिफोन संवाद गरेका थिए।

त्यस क्रममा बाइडेनले गजामा नागरिकहरू नमारिने र उनीहरूलाई क्षति नपुग्ने अवस्था र त्यहाँ मानवीय सहायता अभियान चलाइरहेका सहयताकर्मीहरूको सुरक्षाका लागि ठोस कमदको घोषणा र कार्यान्वयन गरिहाल्न प्रधानमन्त्री नेतेन्याहुलाई चेतावनी दिएको ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले बताए।

इसराइली प्रधानमन्त्री नेतेन्याहुसँग राष्ट्रपतिको टेलिफोन वार्तापछिको प्रेस ब्रिफिङमा किर्बीले इसराइल केही दिनमै बाइडेनले भनेअनुसारका कदम चाल्छ भन्नेमा वासिङटन विश्वस्त रहेको बताए।

अन्यथा अमेरिकाको नीतिमा कस्तो परिवर्तन हुन्छ भन्नेबारेमा उनले थप बताएनन्।

‘केही घन्टा नभए केही दिनमै उहाँहरूले सकारात्मक कदम चाल्नुहुन्छ भन्नेमा विश्वस्त छौं,’ उनले भने।

गत सोमबार गजामा मानवीय सहायता लिएर पुगेको वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसिके)का ७ जना स्वयंसेवकहरू इसराइली हवाई आक्रमणमा मारिएका थिए।

युद्धको भुंग्रोमा परेका गजाका नागरिकहरूलाई खाद्यान्नदेखि लत्ताकपडालगायतका मानवीय सहायता पुर्‍याउँदै आएको डब्लुसिकेका स्वयंसेवकहरू इसराइली आक्रमणमा मारिएपछि त्यसले विश्वको ध्यान तानेको थियो। त्यतिबेला पनि राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक लगायत अन्य शक्तिराष्ट्रहरूले घटनाको भर्त्सना गरेका थिए।

डब्लुसिकेका सहायताकर्मीहरू मारिएपछि गजामा मानवीय सहायता लैजाने काम प्रभावित भएको छ। त्यसले इसरालमाथि विश्व समुदायको दबाब बढेको छ।

अमेरिकाले गजामा हमासविरूद्ध लड्न इसराइललाई हतियार दिनेदेखि संयुक्त राष्ट्रसंघमा उसको पक्ष लिँदै आइरहेको छ। बाइडेनले आफूले भनेअनुसार नभए अमेरिकाले आफ्नो नीति नै परिवर्तन गर्न सक्ने चेतावनी दिएका हुन्।

गजामा ठूलो संख्यामा नागरिकहरू मारिएपछि संयुक्त राष्ट्रसंघमा युद्धविरामका लागि पटकपटक प्रस्तावहरू आएका थिए। अमेरिकाकै आडमा इसराइलले संयुक्त राष्ट्रसंघको निर्णय पनि अस्वीकार गरेको थियो।

तर, मानवीय सहायताकर्मीहरू नै मारिएपछि भने अमेरिका इसराइलसँग चिढिएको हो। हमासविरूद्धको लडाईंमा ठूलो संख्यामा मारिएपछि अमेरिकाले यसअघि पनि इसराइललाई गजामा आक्रमणको रणनीति परिवर्तन गर्न भनेको थियो।

इसराइलले भने भूलवस गजामा मानवीय सहायताकर्मीहरू मारिएको बताएको छ। यससम्बन्धमा छानबिन तथा अनुसन्धान भइरहेको पनि जानकारी गराएको छ।

अक्टोबर ७ मा हमासले आक्रमण गर्दा इसराइलमा १ हजार २ जना मारिएका थिए। उक्त आक्रमणमा १० जना नेपाली नागरिक पनि मारिएका थिए भने विपिन जोशीसहित २४९ जनालाई हमासले बन्दी बनाएर गजा पुर्‍याएको थियो।

त्यसयता इसराइलले लगातार गजामा आक्रमण गर्दै आएको छ।

बीचमा केही दिन युद्धबिराम भएपनि हमासले सबै बन्दी नछाडेपछि इसराइलले पुन आक्रमण बढाएको थियो। इसराइली प्रधानमन्त्री नेतेन्याहुविरूद्ध इसराइलमा पनि ठूलो संख्यामा मानिसहरूले प्रदर्शन गरेका थिए।

उनीहरूले गजामा बन्दी बनाइएका इसराइली नागरिकहरूलाई वार्तामार्फत स्वदेश फिर्ता ल्याउने वातावरण बनाउनुको सट्टा आक्रमण गरेर प्रधानमन्त्री नेतेन्याहुले आफ्नै नागरिकहरूमाथि खतरा बढाएको आरोप लगाएका थिए।

गजामा इसराइलको आक्रमणबाट अहिलेसम्म ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

२३ चैत्र २०८०, शुक्रबार ०९:१३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading