12, Apr, 2024

विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब, एक वर्ष बढीको आयात धान्न पुग्ने

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १७:४३ | १ हफ्ता अगाडी

काठमाडौँ । फागुन मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय रिपोर्टअनुसार २१.७ प्रतिशतले बढ्दै कूल १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो ।

२०८० असार मसान्तसम्ममा यस्तो विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६करोड बराबर रहेको थियो । समीक्षा अवधिमा बढेको विप्रेषण आप्रवाह, केही घटेको आयात र अन्य सेवा आयले सञ्चिति बढ्न पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा १८.२ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ ।

२०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०८०÷८१ को ८ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

२०८० फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

२२ चैत्र २०८०, बिहीबार १७:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading