14, Dec, 2024

प्रदेश तहमा संघीयताको महसुस नै नभएको – मुख्यमन्त्री चौधरी

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ चैत्र २०८०, बिहीबार १६:५५ | ८ महिना अगाडी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश तहमा संघीयताको महसुस नै नभएको जनाएका छन् । प्रदेश सभाको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले यो विषयमा प्रधानमन्त्री तथा सबै प्रदेशका मुख्यमन्त्रीसमक्ष राखेर छलफल चलाए पनि कार्यान्वयन तहमा पुराउन नसकिएको उनले बताए ।

कर्मचारीतन्त्रमा अस्थिर राजनीतिले काम नगर्ने संस्कृतिलाई बढेको मुख्यमन्त्री चौधरीको गुनासो थियो । सरकारमा मन्त्री आउने जाने स्वभाविक हो अहिलेको निर्वाचन प्रणालीले तर कर्मचारीले त्यही अवस्था हेरेर काम नगरी बसेको उनले गुनासो गरे । प्रदेश तहमा भएको कर्मचारीको कमीले त्यसै पनि काम गर्न समस्या भएको त्यसमाथि अस्थिरताले झनै कमजोर उनले बताए । ‘साँच्चै राजनीतिमा ग्रहण लागेको हो कि, यसरी कसरी चल्छ ? अहिलेको व्यवस्थामाथि चुनौती आइरहेको बेला यस्तो अस्थिर अवस्थाले चुनौती थपेको छ’ उनले भने ।

लुम्बिनी प्रदेशलाई दातृसंस्थाले विशेष ध्यान दिए पनि राजनीतिक र प्रशासनिक अस्थिरताले समस्यामा पारेको उनको भनाइ थियो । राजधानी क्षेत्रको जग्गा फुकुवा, कर्मचारी ऐन तयार, दोस्रो आवधिक योजना तयार,सहमति सहकार्यको थालनी, राजधानी क्षेत्रको भौतिक विकासको तीव्रता ११ महिने कार्यकालका मुख्य उपलब्धि रहेको उनले सुनाए । कर्मचारीले बनाएका नियम कानुनका कारणले काम गर्न धेरै समस्या पारेको बताउँदै प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने गरी काम गर्न उनको आग्रह थियो ।

लोरेट एण्ड लिडर सम्मेलन लुम्बिनी बनाउनका लागि आयोजना गर्न थालिए पनि गलत प्रचार भएको बताउँदै संघीय सरकारको निर्णयबाट गर्न थालिए पनि रोकिएर ठूलो क्षति भएको उनको दाबी थियो । मुख्यमन्त्री चौधरीले प्रदेशको औचित्य पुष्टि गर्न सरकारमा रहेर वा विपक्षमा रहेर होस् सधैँ सहकार्य गर्न तयार रहेको बताए । यो सम्बोधनसँगै उनले प्रदेश सभामा राजीनामा दिएको घोषणा गरेका थिए ।

उनको राजीनामासँगै सभामुख तुलाराम घर्तीले चौथो अधिवेशनको अर्को बैठक सूचनामार्फत जानकारी दिने भन्दै आजको बैठक अन्त्य गरेका छन् ।

२२ चैत्र २०८०, बिहीबार १६:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading