30, Apr, 2024

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
२१ चैत्र २०८०, बुधबार ०८:४४ | ३ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिए।

यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक आजका लागि सारिएको थियो।

सत्ता गठबन्धनको भागबन्डामा कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो। तर गठबन्धनले भागबन्डाको निर्णय गर्नुअघि नै कर्णालीमा मुख्यमन्त्री शर्माले प्रदेश सभालाई विश्वासको मत लिने सूचना दर्ता गराएका थिए।

भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो।

तर मुख्यमन्त्री र माओवादी केन्द्रले विश्वासको मत लिएर एक/दुइ दिनमै राजीनामा गर्ने प्रस्ताव राखेपनि एमाले सहमत नहुँदा मंगलबार विश्वासको मत लिनका लागि तय भएको प्रदेशसभा बैठक स्थगित गरिएको थियो।

एमालेले माओवादीसँग यसमा लिखित प्रतिबद्धता मागेको थियो। उक्त मागमा माओवादी सकारात्मक रहेको माओवादीको कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिएका छन्।

हामी केहीबेरमा संसदीय दलको बैठक पनि बस्दैछौं। उहाँहरू विश्वस्त हुनुहुन्न भने लिखित प्रतिबद्धता गर्न पनि तयार छौं। तर राजनीतमा सबै विन हुने कुरा हुन्छ। यसमा केन्द्रीय नेतृत्वले पनि निर्णय दिनुहोला,’ परियारले भने।

उनले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेका कारण राजनीतिक हिसाबले राजीनामा नगरिएको पनि बताए। तर, गठबन्धन र त्यसले गरेको निर्णयप्रति प्रदेश संसदीय दल पनि प्रतिबद्ध रहेको उनले बताए।

‘हामीले मिलनबिन्दु तय गरेका हौं। पत्र सचिवालय दर्ता नभएको भए त्यस्तो गरिँदैन थियो। आज विश्वासको मत लिएर भोलि नै राजीनामा दिन तयार छौं,’ परियारले भने, ‘त्यस्तो हुँदैन थियो भने जे पर्ला भनेर हिजै विश्वासको मत लिन सक्थ्यौं।’

४० सदस्यीय कर्णालीमा बहुमतका लागि २१ सांसद चाहिन्छ।

यहाँ एमालेका १० र माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ जना सांसद छन्। कांग्रेसका १४, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद छन्।

२१ चैत्र २०८०, बुधबार ०८:४४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading