30, Apr, 2024

कर्णाली प्रदेशसभाको बैठक स्थगित

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार १७:४० | ३ हफ्ता अगाडी

सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजेको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने कार्य तालिका रहेको थियो । तर नेताहरूबिच सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

मुख्यमन्त्री शर्माले १५ मिनेट अगाडि मात्रै मंगलबार तय भएको प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिदिन भन्दै प्रदेश सभालाई पत्र पठाएका थिए । सरकारले पत्र पठाएपछि बुधबार दिउँसो तीन बजेसम्मका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्र गुरुङले जानकारी दिए ।

मुख्यमन्त्रीले पठाएको पत्रमा विशेष कारणवश मंगलबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न असमर्थ भएकाले बैठक बुधवारका लागि सार्न उल्ले खरिएको छ ।‘…विशेष कारणवश सो मितिमा प्रस्ताव पेस गर्न असमर्थ भएकोले सो विश्वासको मत लिने प्रयोजनको प्रस्ताव २०८० चैत्र २१ गते सारी प्रदेश सभामा पेस गर्न आवश्यक व्यवस्था मिलाई दिनु हुन पुनः कर्णाली प्रदेश सभा नियमावली, २०७९ को नियम (५) बमोजिम सूचना गरेको छु’, मुख्यमन्त्रीले प्रदेश सभामा पठाएको पत्रमा भनिएको छ ।

केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली कांग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका थिए ।

सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार कर्णालीको मुख्यमन्त्रीको भाग एमालेले पाएको छ । तर, माओवादी केन्द्रले पहिलो चरणमा पार्टीकै नेतृत्व हुनुपर्ने अडान राखेपछि विवाद हुँदै आएको छ । सोही विवाद समाधान हुन नसक्दा मङ्गलवार मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची नै प्रभावित भएको हो ।

आज दिनभर नेताहरू छलफलमा जुटेपछि निशकर्षमा भने पुग्न सकेनन् । माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक जारी छ ।

२० चैत्र २०८०, मंगलवार १७:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading