सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलबीचको भेट निष्कर्षविहीन भएको छ ।
मंगलबार बिहान मुख्यमन्त्री निवासमा शर्मा र कँडेलबीच सत्ता समीकरणका विषयमा करिब एक घण्टा छलफल भएको थियो । तर छलफल निष्कर्षविहीन भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने सत्ता साझेदार दलहरूबीच काठमाडौंमा सहमति भएको थियो । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध मुख्यमन्त्री शर्माले विश्वासको मत लिने आफ्नो अडान कायमै राखेका छन् ।
एमाले नेता कँडेलले केन्द्रमा सहमति भइसकेको हुनाले राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका थिए । तर मुख्यमन्त्री शर्माले पहिलाकै सहमति अनुसार पहिलो चरणमा आफूलाई सहयोग गर्न आग्रह गरे ।
दुवै नेताले आ-आफ्नो अडान कायमै राखेपछि भेटघाट निष्कर्षविहीन भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवाद मिलाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् ।
केही बेरमा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए । बैठक बस्नुअघि मुख्यमन्त्री शर्मालाई मनाउन नेता महेन्द्रबहादुर शाही, पार्टीका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल सहितका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।