12, Apr, 2024

प्रधानमन्त्री प्रचण्डको निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदै

बागमती भ्वाइस
बागमती भ्वाइस
२० चैत्र २०८०, मंगलवार ०८:४६ | १ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्।

कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।

‘केन्द्रको निर्देशन ढिला गरी आयो, प्रक्रिया अघि बढिसकेको हुनाले रोक्न नसकिने भनेर हामीले जानकारी गराइसकेका छौं।

अहिलेसम्मको परिस्थतिअनुसार विश्वासको मत लिने भन्ने नै छ,’ माओवादी केन्द्रका प्रमुख सचेतक रनसिंह परियारले भने।

सोमबार बिहान बालुवाटारमा तीन दल (नेकपा (एमाले), माओवादी केन्द्र, एकीकृत समाजवादी) का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री नेकपा (एमाले)ले लिने समझदारी भएको थियो।

सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।

तर चैत १८ गते नै संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता गराइसकिएकाले अघि बढ्नुपर्ने अवस्था आएको प्रमुख सचेतक परियारले बताए।

‘प्रदेश इन्चार्जज्यू आउँदै हुनुहुन्छ। उहाँसँग छलफल गरेर अघि बढ्छौं। तथापि विश्वासको मत लिने कुरा नै छ,’ परियाले भने।

कर्णालीमा मुख्यमन्त्री छाड्ने सन्दर्भमा माओवादी भित्रै मतैक्य छैन।

पार्टी उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्रको जनाधार रहेको कर्णालीको मुख्यमन्त्री छाड्न नहुने अडानमा छन्। उनले पार्टीका बैठकहरूमा यही अडान राख्दै आएका छन्।

प्रधानमन्त्री प्रचण्डले एमालेसँग सहमति गरिसकेकाले विषय सहजै नटुंगिने एक नेताले बताए।

कर्णालीमा मुख्यमन्त्री उपमहासचिव शर्मा निकट हुन्।

कर्णालीमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ। उसका १४ सांसद छन्। दोस्रो ठूलो दल माओवादी केन्द्रमा १३ सांसद छन्। एमालेका १० सांसद छन्।

एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्रका एक–एक सांसद रहेका छन्।

४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २० मत आवश्यक हुन्छ।

२० चैत्र २०८०, मंगलवार ०८:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading