27, Apr, 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार घोषना

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १८:०० | ४ हफ्ता अगाडी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । उम्मेदवारीका लागि दरखास्त दिएका अन्य पाँचजना पछि हटेपछि लिम्बू सर्वसम्मत उम्मेदवार बनेका हुन् ।

रास्वपामा प्राइमरी इलेक्सनका माध्यमबाट उम्मेदवार छनोट हुने प्रावधान छ । त्यसबमोजिम प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको थियो । तर, आज लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको महामन्त्री डा. मुकुल ढकालले बताए । ‘मिलन लिम्बू हाम्रो सर्वसम्मत उम्मेदवार बन्नुभएको छ, उहाँलाई जिताउन पार्टी एक ढिक्का भएर लाग्छ,’ उनले भने ।

प्राइमरी इलेक्सनका लागि दरखास्त दिएका ६ जनालाई नै आज केन्द्रीय कार्यालयमा छलफलका लागि बोलाइएको थियो । महेन्द्र थापाबाहेक ५ जना छलफलमा उपस्थित भएका थिए । महामन्त्री डा. ढकाल लगायतका नेताहरुले सर्वसम्मत उम्मेदवार खडा गर्दा राम्रो सन्देश जाने बताए । स्थानीय, जनजाति र शिक्षित युवा भएकाले लिम्बूलाई उभ्याउने विषयमा सबैजना सहमत भएको बताइएको छ । थापाले भने फोनमार्फत उनलाई समर्थन जनाएको महामन्त्री ढकालले जानकारी दिए ।

हालैमात्र माओवादी परित्याग गरेका लिम्बूले रास्वपाको प्राइमरी चुनावमा दरखास्त हाल्नुअघि पार्टीको सदस्यता लिएका थिए । अब उनलाई पूर्वी क्षेत्रमा पार्टीको खम्बाको रूपमा प्रोजेक्ट गरिने रास्वपा स्रोतले बताएका छन् । ‘उहाँले चुनाव जिते पनि हारे पनि पूर्वमा पहिलो नम्बरको जनजाति नेताको रुपमा राप्रपामा सक्रिय रहनुहुनेछ,’ स्रोतले भन्यो ।

लिम्बू पहिचानवादी धारका युवा हुन् । उनले कोशी नामकरणको विरोध गरिरहेका पहिचान पक्षधरहरूको साझा उम्मेदवार बन्न चाहेका थिए । तर, टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । स्वतन्त्र जित्दा चुनाव लड्ने छाँट नदेखेपछि उनी रास्वपा प्रवेश गरेका हुन् ।

१५ चैत्र २०८०, बिहीबार १८:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading