काठमाडौं । तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी प्रधानमन्त्री केपी ओलीलाई हटाएर नयाँ सरकार गठन गर्न चाहान्छन् ।
तर प्रधानमन्त्री ओलीलाई हटाउने कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन । संवैधानिक र कानुनी हिसाबले अझै पनि प्रधानमन्त्री ओलीसँग संसदमा स्पष्ट बहुमत छ । तीन दलले ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन भनिरहेको छन् । तर त्यसको प्रत्युत्तरमा प्रम ओली निकट नेताहरुले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिइरहेका छन् ।
तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपा एक अर्काको ‘मुभ’ र निर्णय कुरेर बसेका छन् । तीन दलले न अविश्वासको प्रस्ताव ल्याउन सकेका छन्, न माओवादीले सरकारलाई दिएको समर्थन नै फिर्ता लिएको छ ।
प्रमुख प्रतिपक्ष र सरकारको स्वभाविक दावेदारको हिसाबले नेपाली कांग्रेसले पहल लिनुपर्ने माओवादी र जसपाका नेताहरुको भनाइ छ । कांग्रेसभित्रै पनि पार्टीले नयाँ सरकार निर्माणमा पहल लिनुपर्ने आवाज प्रवल छ ।
जसपाका नेता राजकिशोर यादवले बताए अहिलेको समस्या भनेको नयाँ सरकार गठनका लागि कसले पहिला पहल गर्ने भन्ने नै हो, सबै दल एक अर्काको निर्णय कुरेर बसिरहेका छन् ।
उनका अनुसार सरकार गठन गर्ने हो भने अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी अगाडि बढाउने हो त्यसको एउटा स्पष्ट खाकासहित नेपाली कांग्रेस अगाडि आउनुपर्छ ।
जसपाका नेताहरुका अनुसार नयाँ सरकार गठनका सम्बन्धमा पार्टीभित्र विवाद भए पनि ठोस निर्णय गर्न सक्ने अवस्थामा पार्टी छैन । उनीहरुका अनुसार पार्टीभित्रको विवाद आफ्नो ठाउँमा छ तर कांग्रेस र माओवादीको अनिर्णयले पनि सरकार गठन प्रक्रिया अगाडि बढ्न नसकेको हो ।
जसपाका अर्का एक नेताले भने,‘हामीले प्रमुख विपक्षी नेपाली कांग्रेसलाई सरकार गठन गरिदिनुपर्यो भनेर बिन्ती हाल्ने होइन्, अनि सरकार गठनका सम्बन्धमा हतारमा निर्णय गरेर हामी फस्ने पक्षमा छैनौं ।
ती नेताले कांग्रेस अग्रसर नभएको र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता नलिएको खण्डमा जसपाको सरकारको सम्बन्धमा ठोस निर्णय नै गर्न नसक्ने बताए ।
कांग्रेस र माओवादी केन्द्रले आफूहरुलाई सरकारको नेतृत्व लिन औपचारिकरुपमा आग्रह गरेको अवस्थामा चाहिँ पहल गर्न तयार रहेको जसपाका नेताहरुको भनाइ छ ।
माओवादी र कांग्रेसले आग्रह गरेको खण्डमा पार्टीका सरकारको नेतृत्व लिन पनि तयार हुनुपर्ने आवाज जसपामा रहेको छ ।
नेपाली कांग्रेसले भने सरकार गठनका लागि परिस्थिति परिपक्व नभएको भनी सरकार गठनमा कुनै पनि पहल गरेको छैन । मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग कुराकानी गदै कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस आफैले अविश्वासको प्रस्ताव नल्याउने बताए ।
कांग्रेसले जसपाभित्रको विवाद र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयलाई लिएर ठोस परिस्थिति निर्माण नभएको बताएको छ ।
आइतबार बसेको सो पार्टीको पदाधिकारी बैठकमा पनि नयाँ सरकार गठनका लागि तत्काल पहल नलिने विषयमा नेताहरुको बीचमा समझदारी बनेको थियो ।
उता माओवादी भने जसपाको निर्णय कुरेर बसिरहेको छ । नयाँ सरकारको विकल्प तयार भएपछि मात्र ओलीलाई दिएको समर्थन फिर्ता लिने मुडमा पार्टीका नेताहरु रहेका छन् ।
माओवादी नेता हरिबोल गजुरेलले जसपाको कारण सरकार निर्माण प्रक्रिया अड्किएको बताए । उनले भने,’हामी पार्टीभित्र यस विषयमा छलफल गरिरहेका छौ ।’ यसरी तीन दल एक अर्काको निर्णय कुरेर बसेका छन् ।
नेताहरुका अनुसार कुनै निर्णय हतारमा लिँदा ओली नेतृत्वको सरकारले नै निरन्तरता पाउने सम्भावना रहेकाले पनि अविश्वासको प्रस्तावका सम्बन्धमा निर्णय लिन कठिन भएको हो ।








































