28, Apr, 2024

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस ( भिडिओ सहित् )

बागमती भ्वाइस
बागमती भ्वाइस
१ चैत्र २०८०, बिहीबार १४:३६ | १ महिना अगाडी

काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती विधेयक पेस गरेका हुन् । यो विधेयक प्रतिनिधि सभामा गत फागुन २१ गते दर्ता भएको थियो ।

विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपरेको बताए । त्यस्तै निजामती कर्मचारीलाई राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, समावेशी, व्यवसायिक, सहभागितामूलक र उच्च मनोबलयुक्त र नैतिकवान बनाई राज्यका तर्फबाट प्रदान गरिने सामाजिक सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रतिनिधि सभा नियमावलीको नियम १०७ अनुसार प्रतिनिधि सभाको अर्को बैठकमा विधेयकमाथिको सामान्य छलफल हुन सक्नेछ । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सभामा छलफल भएर अगाडि बढेपछि सांसदहरुले संशोधन दर्ता गर्न सक्छन् । सांसदहरुको संशोधनसमेत राखेर विधेयकमाथि दफावार छलफल हुनेछ । यो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना राखेका थिए । त्यसक्रममा सांसद सुवालले उठाएका प्रश्नहरुको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री जोशीले संघीयता कार्यान्वयनका लागि समेत यो विधेयक आवश्यक रहेको बताए ।

प्रदेश र स्थानीय सरकारमा कर्मचारी व्यवस्थापन गर्न यो विधेयक आवश्यक रहेको मन्त्री जोशीले बताए । राज्यको पुनर्संरचना सँगसँगै प्रशासनिक पुनर्संरचनाका लागि यो विधेयक ल्याउनुपरेको उनले दोहोर्‍याए ।

विधेयकले कर्मचारीलाई राजनीतिक रुपमा मुक्त बनाउनेलगायतका उद्देश्य रहेको पनि उनले बताए ।

१ चैत्र २०८०, बिहीबार १४:३६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading