29, Apr, 2024

सुदूरपश्चिम सरकारमा नाउपाका अर्का सांसद पनि मन्त्री बन्ने भए

बागमती भ्वाइस
बागमती भ्वाइस
२८ फाल्गुन २०८०, सोमबार १६:२२ | १ महिना अगाडी

काठमाडौ । काठमाडौ सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अर्का सांसद पनि मन्त्री बन्ने भएका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका लक्ष्मणकिशोर श्रेष्ठलाई सामाजिक विकास मन्त्री नियुक्त गर्न लागेका हुन्।

उनको आजै साँझ शपथ हुने एक नेताले बताए।

‘नेपाली कांग्रेसको सरकारलाई हाम्रो साथ, समर्थन चाहिएको छ। यो सरकारलाई हाम्रो समर्थन रहँदै आएको छ। उहाँहरूले मन्त्री नियुक्त गर्न सक्नुहुनेछ। माओवादी केन्द्र र एकीकृत समाजवादी बाहिरिइसकेको अवस्थामा हाम्रो साथ खोज्नु अन्यथा होइन। तर परिपक्व भइसकेको छैन। अझै एक घन्टामा थाहा होला,’ उनले भने।

शुक्रबार मुख्यमन्त्री शाहले नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम डगौरा थारूलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए।

पार्टीको निर्देशनविपरीत मन्त्री बनेको र शपथ खाएको भन्दै नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनीहरूलाई कारबाही गर्ने निर्देशन दिएकी थिइन्।

यद्यपि सुदूरपश्चिम सरकारमा नाउपा यसअघि नै सरकारमा सामेल भइसकेको छ। नाउपाबाट रामेश्वर चौधरी भूमि व्यवस्था, सहकारी तथा कृषि मन्त्री छन्।

तर पार्टीसँग सरसल्लाह नगरी थप मन्त्रीहरूले शपथ लिएपछि पार्टीभित्र विवाद चुलिएको थियो।

नवनियुक्त मन्त्रीहरूलाई पार्टीका संरक्षक रहेका रेशम चौधरीले शनिबार बर्दियास्थित निवासमा बोलाएर सरकारमा सहभागी हुनुपर्नको कारण र कामबारे निर्देशन दिएका थिए।

‘पार्टी गठन र नाउपा आन्दोलनको मूलभूत रूपमा दुई वटा प्राथमिकता थिए। पहिलो यो न्यायको लडाइँ थियो। अर्को विकास निर्माणमा पार्टीको अगुवाइको कुरा पनि थियो,’ संरक्षक चौधरीको भनाइ उद्धृत गर्दै बिनाविभागीय मन्त्री थारूले भने, ‘जनताको म्यान्डेट नै सरकारमा जाने, विकास निर्माणमा सहभागी हुने हो। सरकारमा सहभागी नहुने हो भने जनतासामु गरिएका वाचा–प्रतिबद्धता कसरी पूरा हुन्छ। जनताको चाहनाअनुरूप पार्टी चल्नैपर्‍यो।’

अध्यक्ष श्रेष्ठले भने सोमबार टीकापुरका पार्टीको केन्द्रीय समितिको बैठक बोलाएकी थिइन्। फागुन २४ महाधिवेशनबाट निर्वाचित कमिटीले वैधानिकता नपाएकाले हाल २१ सदस्यीय पुरानो कमिटी नै क्रियाशील हुन पुगेको छ। निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षको मान्यता दिन अस्वीकार गरेको थियो।

अध्यक्ष श्रेष्ठको स्वास्थ्यका कारण आज बैठक बस्न नसकेको मन्त्री बन्न लागेका लक्ष्मणकिशोर चौधरीले बताए।

‘आज बैठक बस्ने कुरा थियो। तर अध्यक्षज्यूको स्थास्थ्यका कारण बैठक बस्न सकेन,’ उनले भने।

केन्द्रीय कमिटीको बैठक बोलाएर नबस्नुमा पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको मतभेद सुलह भएको रूपमा बुझेको एक नेताले बताए।

सात जना सांसद रहेको नाउपाबाट पाँच जना मन्त्री बने पनि सुदूरपश्चिम प्रदेश सरकारको संकट भने टरिसकेको छैन।

स्वतन्त्र सांसद रहेका ताराप्रसाद जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद खेमादेवी विष्टले समर्थन गर्ने हो भने मात्र नेपाली कांग्रेस नेतृत्वको मौजुदा सरकार जोगिन्छ।

स्वतन्त्र सांसद जोशीले तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको बताए।

‘अहिले नै सरकारमा सहभागी हुने अवस्था छैन। यो सरकारको वास्तविक स्वरूप देखिइसकेको छैन। भोलिसम्म केही आकार आउन सक्छ,’ उनले भने।

राप्रपाले भने केन्द्रको निर्णय पर्खिइरहेको छ। राप्रपा केन्द्रले प्रदेश सरकारबारे छलफल गरिसकेको छैन।

२८ फाल्गुन २०८०, सोमबार १६:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading