वि.सं.२०८३ भदौ १३ शनिवार

रामेछापमा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइयो

khanepani

रामेछाप । रामेछापमा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिकाका किसानले पालेका एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर अर्थात् भेडा बाख्राको हैजा विरुद्धको खोप लगाइएको हो ।

जिल्लाका सबै पालिकाको जनशक्ति व्यवस्थापनमा पशु सेवा कार्यालय सिन्धुलीले फागुन १६ गतेदेखि २२ गतेसम्म साताव्यापी खोप अभियान सञ्चालन गरेको थियो । खोप अभियान अन्तर्गत जिल्लाका रामेछापको दुई नगरपालिका र ६ वटा गाउँपालिकामा एक लाख ३६ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको पशु सेवा कार्यालय सिन्धुलीका पशु चिकित्सक नवराज थापाले बताउनुभयो ।

उहाँका अनुसार १४ वटा वडा रहेको मन्थली र ९ वटा वडा रहेको रामेछाप नगरपालिकामा २५÷२५ हजार भेडा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । त्यसै गरी नौ वटा वडा रहेको खाँडादेवी गाउँपालिकामा १४ हजार, ७ वटा वडा रहेको लिखुतामाकोशी गाउँपालिकामा १५ हजार, ७ वटा वडा रहेको उमाकुण्ड गाउँपालिकामा १५ हजार भेडा बाख्रालाई खोप लगाइएको छ । ५ वटा वडा रहेको सुनापति गाउँपालिकामा १५ हजार, ७ वटा वडा रहेको दोरम्बा शैलुङ गाउँपालिकामा १२ हजार र ६ वटा वडा रहेको गोकुलगंगा गाउँपालिकामा १५ हजार भेडा बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । पिपिआर खोप सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

पशु चिकित्सक थापाले भन्नुभयो ‘‘पिपिआर भेडा बाख्रामा विषाणुको कारण हुने महामारी रोग हो । यो रोग पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भएता पनि नयाँ ठाउँमा फैलिदा धेरै क्षति हुन्छ । त्यसैले भेडा बाख्रामा पिपिआर खोप लगाउन आवश्यक छ ।

यो रोगको खास उपचार नभएको हुँदा सबै भन्दा प्रभावकारी भनेकै सामूहिक खोप लगाएर रोग नियन्त्रण गर्नु हो ।’’ पिपिआर रोग रोगी भेडा बाख्राको प्रत्यक्ष सम्पर्कमा आउनाले वा विषाणुको सङ्क्रमण भएको दाना, घाँसपात, सोतर, हेरचाह गर्ने व्यक्तिको माध्यमबाट सर्ने गर्दछ । यो रोग लागेमा बाख्रा वा भेडामा ज्वरो आउने, झोक्राउने, मुख सुक्खा हुने, घाँसपात नखाने र उग्राउन छाड्ने जस्ता लक्षण देखा पर्दछ । यस्तै आँखामा कचेरा लाग्ने, नाकबाट बाक्लो सिँगान बग्ने, गिजा र मुखभित्र घाउहरू देखिने, बथानमा एकै पटक धेरै बिरामी पर्ने जस्ता लक्षण देखिने गर्दछ।

ranechhap