29, Apr, 2024

सुदूरपश्चिम प्रदेशका महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले गरे प्रदेश इन्टेलिजेन्स टाेली गठन

बागमती भ्वाइस
बागमती भ्वाइस
२५ फाल्गुन २०८०, शुक्रबार १३:०० | १ महिना अगाडी

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टाेली गठन गरेका छन् ।

तत्कालीन डीआईजी भरतबहादुर बाेहराले प्रदेश अनुसन्धान समूह (आरआईटी) खारेज गर्दै पुनर्गठन गरेकाे पृष्ठभूमिमा अहिलेका डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टीम’ (पीआईटी)नाम दिएर छुट्टै टाेली गठन गरेका हुन् ।

उनले प्रहरी नायब निरीक्षक (सई) काे नेतृत्वमा पीआईटी गठन गरिएको जानकारी दिए ।

उक्त टाेलीले प्रदेशका अपराध अनुसन्धान, सहायता र अनुगमन, लागुऔषध, चाेरी तस्करी नियन्त्रण र कानुन कार्यान्वयनमा काम गर्ने केसीले बताए ।

पीआईटीमा प्रदेशमा उपलब्ध भएसम्म अपराध अनुसन्धानमा विज्ञ, आईटी विज्ञ र सहयाेगी प्रहरीलाई समावेश गरिएको उनी बताउँछन् ।

उक्त टाेलीलाई प्रदेशभरकाे अनुसन्धानकाे दिशा कसरी गइरहेको छ ? भनेर अनुगमन गर्ने तथा परामर्श दिने अधिकार समेत दिइएको छ । आवश्यकताअनुसार पीटीआईकाे स्तर वृद्धि गर्दै लगिने समेत सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विगतमा प्रदेश प्रहरी कार्यालयले प्रदेश अनुसन्धान समूह (आरआईटी) गठन गरेकाे थियाे । तर केसी भन्दा अघि प्रदेश प्रहरीकाे नेतृत्व गरेका डीआईजी बाेहराले आरआईटी खारेज गरेका थिए । लगत्तै पुनर्गठन गरेपछि आफू अनुकुलका प्रहरी राखेकाे आराेप लागेकाे थियो ।

केसी प्रदेश प्रहरीकाे प्रमुख भएर आएपछि आरआईटीमा कार्यरत प्रहरी कर्मचारीकाे काम सन्ताेषजनक नदेखिएपछि जिम्मेवारी हेरफेर गरेका थिए । जिम्मेवारी हेरफेर गर्दा समेत परिणाम नदेखिएपछि खारेज गर्दै पीटीआई गठन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

२५ फाल्गुन २०८०, शुक्रबार १३:०० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading