काठमाडौं । नेकपा एमालेका वडादेखि जिल्ला तहसम्मका अधिवेनशनमा अब उद्घाटन समारोह भन्दा २ दिनअघि नै प्रतिनिधिको टुंगो लाग्नैपर्ने भएको छ । प्रतिनिधिको प्रमाणीकरण एक तह माथिको कमिटीले गर्नुपर्ने व्यवस्था समेत थपिएको छ ।
केन्द्रीय संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण, विस्तार र स्थानीय अधिवेशनको सुव्यवस्थापन विषयक २ दिने सांगठानिक कार्यशालाले विभागका सचिव माधव ढुंगेलबाट प्रस्तुत सो व्यवस्थासहितको कार्यपत्र पारित गरेको हो ।
जेठ भित्रमा एमालेका जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने पार्टीको निर्देशन छ । विभिन्न जिल्लामा प्रतिनिधिकै कारण विवाद हुने,निर्वाचन कि सहमति भन्ने विवादले अधिवेशन हप्तौंसम्म लम्बिने र भद्रगोल अवस्था आउन थालेपछि यसको व्यवस्थापन गर्न खोजिएको हो ।
उदाहरणका लागि स्थानीय पालिका अधिवेशनका प्रतिनिधिको प्रमाणिकर जिल्लाले र जिल्लाको प्रदेशले गर्नेछ । प्रतिनिधि छनौटको क्लस्टर र कति सदस्य बराबर कति प्रतिनिधि भन्ने पनि स्पष्ट मापदण्ड बनाइएको ढुंगेलले बताए ।
त्यस्तै जिल्ला अधिवेशनहरूमा सहमति गर्ने नाममा निर्वाचन प्रक्रिया बिलम्ब गर्दा खर्च बढेको, प्रतिनिधिहरू बेखर्ची भएको तथा भद्रगोल सिर्जना भएको अवस्था अब अन्त्य हुनेछ । अब निर्धारित समयमा निर्वाचन प्रक्रिया टुंग्याउनुपर्नेछ । सहमतिका नाममा निर्वाचन प्रक्रिया रोक्न नपाउने व्यवस्था गरिएको छ ।
प्रदेश कमिटी, केन्द्रीय संगठन विभाग र मुख्य जनाधार भएका जनसंगठनका अध्यक्ष तथा महासचिव र सचिवसहित संगठन विभाग प्रमुख र कार्यालय सचिवहरू सहभागी कार्याशालामा विभाग प्रमुख काशिनाथ अधिकारीले अवधारणा पेश गरेका थिए ।
कार्यशालाको उद्घाटन सत्रलाई उपाध्यक्ष विष्णु पौडेल र समापनमा महासचिव शंकर पोखरेलले सम्बोधन गरेको ढुंगेलले बताए । कार्यशालामा ६५ जना सहभागी थिए ।
संगठन विभाग सचिव माधव ढुंगेलले कार्यलय सञ्चालन, अनलाइन व्यवथापन, नेतृत्व निर्माणसम्बन्धी अवधारण, स्थानीय अधिवेशनको कार्यविधी निर्माण विषयमा कार्यपत्र पेश गरेका थिए । ११ वटा समूहको छलफलबाट संगठन संचालनको अवधारणा पारित भएको हो ।
यसैबीच एमाले संगठन विभागले सदस्यता नवीकरण शुल्कबापत केन्द्रीय कार्यालयमा करिब १२ करोड रूपैयाँ जम्मा गरेको छ । एक रूपैयाँ पनि बाँकी नराखी सबै सदस्यबाट प्राप्त शुल्क केन्द्रमा आउने ३५ प्रतिशत रकम चुक्ता भएको विभागले जनाएको छ ।
एमालेमा साढे ५ लाख सदस्य कायम भएका छन् भने करिब डेढ लाख सदस्यले नवीकरण छुटेको भनेर आवेदन दिएका छन् । तर, जेठसम्म अधिवेशन प्रभावित हुनेभएकाले नविकरण रोकिएको छ । यसअघि एक लाख सदस्यको दोहोरो विवरण रहेकोमा त्यसलाई हटाएर अद्यावधिक गरिएको हो ।
२४,फाल्गुन.२०८०,बिहीबार ११:१३ मा प्रकाशित