29, May, 2024

नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार १७:२० | २ महिना अगाडी

काठमाडौं । नेकपा एमालेले प्रस्तावित नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने प्रस्ताव गरेको छ । सरकारले गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्नका लागि नेपाल विश्वविद्यालय विधेयक ल्याएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा दफावार छलफलमा रहेको विधेयकमाथि संशोधन प्रस्ताव गर्दै एमालेले नेपाल विश्वविद्यालयलाई मुनाफारहित बनाउने भनेको छ । एमालेका सांसदहरु महेश बर्तौला, ठाकुर प्रसाद गैरे, विद्या भट्टराई, गोकुल बास्कोटा, सरिता भुसाल, दिपा शर्मा, इश्वरी घर्ती र हरी प्रसाद उप्रेतीले यस्तो प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा ३ मा विश्वविद्यालय स्थापना सम्बन्धी व्यवस्था छ । जहाँ अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धान मार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न, नवीनतम ज्ञानको सिर्जना र नवप्रवर्तक गर्दै समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा नेपाल विश्वविद्यालय स्थापना गर्ने भनिएको छ । तर, राष्ट्रिय सभाले यो प्रस्तावित व्यवस्थामा रहेको ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयको रुपमा’ भन्ने शब्द झिकेर विधेयक पारित गरेर प्रतिनिधि सभामा पठाएको छ । राष्ट्रिय सभाले झिकेका शब्दहरु थप गर्नुपर्ने एमाले सांसदहरुको प्रस्ताव छ ।

‘विधेयक (राष्ट्रिय सभाकबाट पारित भएको विधेयकको प्रतिवेदन)को दफा ३ को उपदफा १ मा ‘मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्र’ भन्ने व्यवस्था थप गर्नुपर्ने’ एमाले सांसद ठाकुर गैरेको प्रस्ताव छ । एमालेका बाँकी ७ जना सांसदले भने विधेयककोे दफा ३ को उपदफा १ ‘मुनाफा रहित’ भनी लेख्नुपर्ने व्यवस्था प्रस्ताव गरेका छन् । एमाले सांसदहरुले राखेको संशोधन प्रस्ताव स्वीकृत भएको खण्डमा लिबरल आर्टस्मा आधारित मुनाफा रहित नेपाल विश्वविद्यालय स्थापना हुनेछ ।

२० मंसिर २०७९ मा दर्ता भएको यो विधेयक १८ असार २०८० मा राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो । हाल यो विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलमा छ ।

२२ फाल्गुन २०८०, मंगलवार १७:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading