काठमाडौं । नेपालले घरेलु मैदानमा साफ यू-१६ महिला च्याम्पियनसिप प्रतियोगिता हारसहित सुरु गर्दा नेपाली खेलाडी बंगलादेशको टिम सामु प्राविधिक र शारीरिक पक्षमा कमजोर देखिए । शनिबार ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशसँग नेपाल २-० ले पराजित भयो ।
नेपालले प्रतियोगिता अघि उपाधि जित्ने लक्ष्य त राख्छ तर ग्रासरुट नै नभएकाले खेलाडीको प्रदर्शन फितलो देखिन्छ । ग्रासरुट फुटबल नभएको अवस्थामा एक महिनाको प्रशिक्षणले खेलाडीहरु पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न बाध्य भएकाले गाह्रो भएको प्रशिक्षक चक्र तामाङ बताउँछन् । ‘ग्रासरुट बलियो भएको भए अलि सहज हुने थियो होला । ग्रासरुट नै नहुँदा हामीलाई गाह्रो भएको हो,’ प्रशिक्षक तामाङले भने । बंगलादेशसँगको खेलमा नेपालको खेल पहिलो हाफमा निकै कमजोर थियो । मिडफिल्ड खाली देखिँदा बंगाली खेलाडीले नेपाललाई राम्रै दबाब दिएका थिए ।
प्राविधिक ज्ञानको कमी भएका खेलाडीले मिडफिल्डमा बल होल्ड गरेर खेल्न नसक्नु नै पहिलो हाफमा २-० ले पछि पर्नुको कारण बन्यो । दोस्रो हाफमा भने नेपालले केही सुधार गरेको हो । बल पोजिसनमा केही सुधार भए पनि प्राविधिक तथा शारीरिक क्षमतामा नेपाली खेलाडी कमजोर देखिए । ‘पहिलो हाफमा हाम्रो मिडफिल्डमा डिकी स्याङ्बो तामाङले खेल्नुपर्ने खेलको १० प्रतिशत पनि खेल्न सकिनन् । जसका कारण हामी निकै कमजोर देखियौं,’ प्रशिक्षक तामाङले भने ।
खेलाडीले दोस्रो हाफमा पोजिसन र बल होल्ड गर्न नसक्दा फिनिसिङमा चुकेको प्रशिक्षक चक्र तामाङले बताए । ‘दोस्रो हाफमा हामी अट्याकमा गयौं । खेलाडीले बल पाए तर त्यहाँ एकछिन होल्ड गर्ने साथीलाई पास दिने भन्ने नै भएन । हामी हारिरहेका छौं भन्ने मनसायले गोल गर्न हतार गरे ।’
प्रशिक्षक चक्र तामाङ
प्रशिक्षक तामाङले नेपाली खेलाडी र बंगाली खेलाडीको तुलनात्मक विश्लेषण गर्दैर् भने, ‘बंगलादेशको हेर्ने हो भने फिजिकलदेखि प्राविधिक पक्षहरुमा उनीहरु निकै बलिया थिए । यो कुरामा हामी निकै तल छौं । हामीले १/२ महिनामा त्यो आउने कुरा होइन । अलि लामो समय चाहिन्छ ।’ दीर्घकालीन नीति नभइ प्रतियोगिता आउने समय हतारोमा खुल्ला छनोटबाट खेलाडी बटुल्दै गरेको तयारी अपर्याप्त नै हुन्छ ।
बंगाली खेलाडीलाई श्वासप्रश्वासको समस्या
पहिलो हाफमा निकै राम्रो देखिएको बंगाली टिम दोस्रो हाफमा भने त्यति हाई प्रेसरमा खेल्न सकेन । उनीहरुलाई नेपालको वातावरणमा खेल्न गाह्रो भएको प्रशिक्षक सैफुल बारी तितुले बताए ।
पहिलो हाफको ३१ औं मिनेटमा नै घरेलु टिम नेपालमाथि २-० को अग्रता कायम गरेको बंगलादेशले दोस्रो हाफमा त्यति अवसर बनाउन सकेनन् । दुई जना खेलाडी घाइते भएर मैदानबाट बाहिरिए ।
नेपालविरुद्ध गोल गरेकी प्रिती पनि दोस्रो हाफमा घाइते भइन् । फरवार्ड लाइनमा राम्रो गरिरहेकी प्रिती बाहिरिएपछि बंगलादेशको अग्रपंक्ति अल्पी अख्तरको काँधमा आयो । त्यसपछि नेपाली पोष्टमा त्यति साह्रै दबाब भने बंगाली खेलाडीले दिन सकेनन् ।
कारण थियो उनीहरुलाई नेपाली वातावरणमा घुलमिल हुन गाह्रो हुनु । यसको खुलासा भने प्रशिक्षक तितु आफैंले गरे ।
उनले पत्रकारहरुलाई भने, ‘हाम्रा खेलाडीलाई खेलको ५० मिनेट पछि सास फेर्न गाह्रो भइरहेको थियो । यो स्थानमा अक्सिजनको मात्रा नपुग्दा उनीहरुले पहिलो हाफमा जस्तो खेल्न सकेनन् ।’
पहिलो खेलमा धेरै कुराहरु गल्ती भए पनि पहिलो खेल भएकाले सुधार्नुपर्ने पक्ष धेरै रहेको प्रशिक्षक तितुले बताए ।