15, May, 2024

भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्‍दोलन : ड्रोनबाट अश्रुग्यास प्रहार, ड्रोन झार्न किसानले उडाए चंगा

बागमती भ्वाइस
बागमती भ्वाइस
४ फाल्गुन २०८०, शुक्रबार १६:१९ | २ महिना अगाडी

काठमाडौ । काठमाडौ भारतको नयाँ दिल्लीमा चार दिनदेखि किसानहरू आन्‍दोलनमा छन्।

बालीको मूल्य र नाफा सुनिश्चित गर्न माग गर्दै भारतका हजारौं किसानले ‘दिल्ली चलो’ अभियान गरी आन्दोलन गरिरहेका हुन्।

शुक्रबार भारतीय किसान यूनियन (बिकेयू) ले देशव्यापी भारत बन्दको घोषणा समेत गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

सरकारलाई दबाब दिन आफ्ना कामकाज छाडेर भारत बन्द गर्ने घोषणा गरेको बिकेयूका नेता पवन खातानाले बताए।

‘किसानहरूलाई काम गर्न, किनमेलका लागि बजार नजान भनिएको छ। व्यापारी र यातायात व्यवसायीहरू पनि प्रदर्शनमा सहभागी हुन आएका छन्,’ उनले भने।

दिल्ली प्रवेश गर्न खोजेका किसानलाई प्रहरीले ठूलो सुरक्षा घेरा राखेर रोक्ने प्रयास गरिरहेको छ। टाइम्स अफ इन्डियाका अनुसार शम्भू बोर्डरमा प्रहरीले भीडलाई तितरबितर पार्न किसानहरूमाथि अश्रुग्यास समेत प्रहार गरेको छ।

किसानले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्। दुई पक्षीय भीडन्तमा परी किसान, पत्रकार र प्रहरीहरूसमेत घाइते भएका छन्।

प्रहरीले किसानहरू राजधानीमा प्रवेश गर्न नसकून् भनेर तहगत रूपमा ब्यारिकेड (छेकबार) लगाएको छ। किसानले उक्त ब्यारिकेड पनि तोड्ने प्रयास गरेका छन्।

दिल्‍ली चलो अभियानका लागि हरियाना, पञ्जाबबाट यात्रा गरिरहेका कतिपयलाई दिल्ली पुग्नु २०० किलोमिटर अघिदेखि नै प्रहरीले रोक्दै आएको छ।

प्रदर्शनकारीहरूलाई रोक्न दिल्ली प्रहरीले ड्रोनबाटै अश्रुग्यास समेत प्रहार गरेको छ। केही दिनदेखि सुरू भएको प्रदर्शनमा प्रहरीले ड्रोनमार्फत् हजारौं टियरग्यास प्रहार गरिसकेको छ।

तर त्यससँग जुध्न किसानले पनि जुक्ति लगाएका छन्। किसानले पनि ड्रोनलाई झार्न चंगा उडाएको टाइम्स अफ इण्डियाले जनाएको छ। त्यसरी चंगा उडाएपछि प्रहरीको सुरक्षा बैठकमा चर्चा समेत भएको थियो।

किसानहरूले आफ्ना मागबारे सरकार सकारात्मक नभएको गुनासो समेत गरेका छन्।

किसानहरूले खेती-बालीको मूल्य सुनिश्चित गर्न माग गरेका छन्। किसान समुदायको सुरक्षा र आफूहरूको नाफा सुनिश्चित गर्न आन्दोलन गरिरहेका हुन्। कम्तीमा पनि ५० प्रतिशत नाफा पाउनुपर्ने उनीहरूको माग छ।

उक्त मागसँगै उनीहरूले सन् २०२०-२१ मा सरकारले हालेका किसानविरूद्ध मुद्दा फिर्ता लिन पनि माग गरेका छन्। त्यतिबेला पनि त्यहाँ किसान आन्दोलन भएको थियो।

किसानले पेन्सन र ऋण मिनाहाको समेत माग राखेका छन्।

४ फाल्गुन २०८०, शुक्रबार १६:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading