26, Feb, 2024

दुबईमा फेब्रुअरी १५ मा रोजगार मेला हुने, नेपाली कामदारले प्रत्यक्ष लाभ पाउने

बागमती भ्वाइस
बागमती भ्वाइस
१९ माघ २०८०, शुक्रबार १४:०२ | ३ हफ्ता अगाडी

काठमाडौं । सन् २०२४ फेब्रुअरी १५ मा दुबईमा रोजगार मेला हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला गर्न लागेको हो ।

दुबईको अबुधाबीमा हुने मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित व्यक्तिहरु, रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा स्टल रहनेछ । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ ।

मेलामा सहभागी हुने सरकारी प्रतिनिधिमण्डलको संख्या र नाम टुंगो लागेको छैन ।

रोजगार मेलाका फाइदा

१) यूएई सरकारको भावी रणनीति र प्राथमिकताका क्षेत्रबारे जानकारी हुने ।

२) यूएईमा रहेका नेपाली व्यवसायी र लगानीकर्ताहरुमार्फत तालिम प्रदायक संस्थामा लगानी भई नेपालको श्रम बजारमा प्रतिस्पर्धात्मक जनशक्ति उत्पादन गर्न सहजीकरण हुने ।

३) दुबै सरकारबीच मानव स्रोत आपूर्ति सम्बन्धमा संलग्न निकायबीच अनुभव आदानप्रदान गरिने ।

४) यूएई सरकारलाई कुन कुन क्षेत्रमा कति संख्यामा कस्तो सीप, क्षमता र अनुभव भएका श्रमिक आवश्यक छ भन्ने प्राथमिक रुपमा जानकारी प्राप्त हुने हुँदा आगामी दिनमा तदनुरुपको जनशक्ति उत्पादन गर्न नेपाल सरकारलाई पृष्ठपोषण प्राप्त हुने ।

५) सीपयुक्त र क्षमतावान श्रमिक आपूर्ति गर्न सकेमा श्रमिकको मनोबल उच्च रहने, मानसिक तनाव कम हुने । नेपालको अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पर्ने ।

६) नेपाली कला, संस्कृति र घरेलु उत्पादनको बारेमा यूएईका नागरिकलाई जानकारी प्राप्त भई पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने ।

७) मेलाबाट नेपाली नयाँ जब स्कील भएकाहरुले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने ।

१९ माघ २०८०, शुक्रबार १४:०२ मा प्रकाशित