26, Feb, 2024

नयाँ स्मार्ट कार्डको छपाइमा समस्या, मास प्रिन्टरले ‘रिड’ नै गरेन

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ माघ २०८०, बिहीबार १५:१६ | ३ हफ्ता अगाडी

काठमाडौ । काठमाडौ गत पुस २६ गते नेपाल आइपुगेको चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने ६ लाख स्मार्ट कार्डमा प्रिन्टिङको समस्या देखिएको छ।

यातायात व्यवस्था विभागका एक अधिकारीका अनुसार ‘पर्सनलाइजेसन’मा समस्या देखिएपछि कार्ड छपाइमा समस्या आएको हो।

‘विभागमा चलिरहेको मास प्रिन्टिङ मेसिनले नयाँ आएको कार्डलाई रिड गर्न सकेन। त्यसैले प्रिन्टिङमा समस्या आएको हो,’ ती अधिकारीले भने।

यस हिसाबले अब प्रिन्टिङको काम अगाडि बढाउन अझै केही समय लाग्नेछ। मेसिन र कार्डको ‘की’ मिल्नुपर्ने हुन्छ।

यसो नभए मेसिनले कार्ड रिड गर्दैन। नयाँ ल्याइएको कार्डमा छपाइ गर्नलाई अब सोही कार्ड अनुसार मेसिनलाई पर्सनलाइज गर्नुपर्ने हुन्छ।

ती अधिकारीले विभागले प्रिन्टर खरिद गरेको भारतीय कम्पनी मद्रास सेक्युरेटी प्रिन्टर्स र अहिलेको कार्ड आपूर्तिकर्ता जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग विभागले यसै सम्बन्धमा छलफल गरिरहेको समेत बताए।

मुहेल्बर आइडी सेवासँग कार्ड लिनुअघि मद्रास प्रिन्टर्सले नै स्मार्ट कार्ड आपूर्ति गरेको थियो।

विभागले करिब बीस दिन अघि आइपुगेको नयाँ लाइसेन्स कार्डका केही प्रति नमूना छपाइ गर्न खोजेको थियो। छपाइ गरेको र नयाँ आएको कार्डकै पनि गुणस्तर जाँच्न पुनः मुहेल्बरलाई पठाउनुपर्ने हुन्छ। जर्मनमै भएको ल्याबबाट परीक्षण भई कार्ड र छपाइ ठिक भए अन्य लाइसेन्स छपाइ काम सुरू गर्न सकिन्छ।

यसको लागि विभागले नमूना छपाइ गर्न खोजेको थियो। सो परीक्षण गर्नेबेलै समस्या देखिएको हो।

विभागका अनुसार मुहेल्बर आइडी सेवालाई मद्रास प्रिन्टर्सले कार्ड छाप्नु अघि प्रिन्टर अनुसार कार्ड पर्सनलाइज गरी त्यसमा हुनुपर्ने विशेषता (स्पेसिफिकेसन) पठाएको थियो। तर अहिले लाइसेन्स कार्डमा प्रयोग भइरहेको चीपभन्दा फरक चीप भएको कार्ड आइपुगेको हुन सक्ने अनुमान छ। यसै कारण छपाइमा समस्या देखियो।

विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले समस्या देखिएको स्वीकार्दै यसलाई समाधान गर्न लागिरहेको बताए।

उनले अहिले प्रिन्टर कम्पनी र कार्ड पठाएको कम्पनी दुवै पक्षसँग छलफल भइरहेको बताए।

‘प्रिन्टिङमा केही समस्या देखिएको हो। एक-दुई दिनमै समस्याको समाधान हुन्छ। नयाँ कार्ड परीक्षण गर्ने क्रममै छौं,’ उनले भने।

स्मार्ट कार्ड छाप्न गत फागुनमा सरकार र जर्मनी कम्पनी मुहेल्बर आइडी सेवा जिएमबिएचसँग सम्झौता भएको थियो।

कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो। पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको थियो। बाँकी ६ लाख दोस्रो चरणमा आइपुग्ने बताइएको छ।

तर पहिलो चरणमा पठाएकै कार्डमै समस्या देखिएको छ। यदी समस्याको समाधान निस्किन सकेन भने कार्ड खेर जाने विभाग स्रोत बताउँछ।

‘हामीसँग भएको मास प्रिन्टरमा छापेन भने अर्को विकल्प छैन। मेसिनलाई पर्सनलाइज गर्नुपर्ने हुन्छ। यो भएन भने सम्भवतः कार्ड खेर जान सक्छ। तर कुरा भइरहेको छ। केही उपाय निकालिन्छ भन्ने छ,’ ती अधिकारीले भने।

अहिले विभागसँग ५० हजारभन्दा कम पुराना स्मार्ट कार्ड बाँकी छन्। ती कार्डमा अत्यावश्यक वर्गका लाइसेन्स छपाइ हुँदैछ।

विभागका अनुसार १४ लाख बढी सेवाग्राहीहरू नयाँ कार्डको प्रतीक्षामा छन्। प्रत्येक दिन चार हजारभन्दा बढीले नयाँ कार्ड वा नवीकरणको लागि आवेदन दिइरहेका छन्।

१८ माघ २०८०, बिहीबार १५:१६ मा प्रकाशित