02, May, 2024

पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक बुधबारदेखि ४८ दिन बन्द हुने

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ माघ २०८०, बुधबार १६:५७ | ३ महिना अगाडी

रुपन्देही । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल जाने सडक बुधबारदेखि ४८ दिन बन्द हुने भएको छ । बैकुन्ठे भीर नजिकैको सडक ढलान गर्न बुधबारदेखि आगामी चैत ५ गतेसम्म बन्द गर्न लागिएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।

रानीमहल जाने सवारीसाधन २४ घण्टा नै पूर्ण रूपमा बन्द हुने भएकाले सडकको वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको कार्यालय प्रमुख वासुदेव भण्डारीले बताए ।

‘पहिलो चरणमा बैकुन्ठे भीर नजिकैको सडक ढलान कार्य गर्न लागिएको छ’, उनले भने, ‘त्यसका लागि काम गर्न २० र ढलानपछिको २८ दिनको समय बन्द गर्ने निर्णय भएको हो ।’

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको सरोकारवालाको बैठकले सडक बन्द गरेर ढलान गर्ने निर्णय गरेको उनले बताए । प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायी, सरोकारवाला कार्यालय, निर्माण व्यवसायीसमेतको उपस्थितिमा सडक बन्द गरेर काम गर्न दिने निर्णय भएको हो ।

तानसेनदेखि १५ किलोमिटर दूरीमा पुगिने रानीमहल सडक लामो समय बन्द हुँदा तानसेन-हार्थोक-अर्गली हुँदै रानीमहल पुग्न ४० किलोमिटर यात्रा तय गर्नुपर्छ । कच्ची सडक बौघागुम्हा भएर जाने वैकल्पिक मार्ग भए पनि यहाँको सडक कच्ची र अप्ठेरो भीर रहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गदेखि पाल्पाको पूर्वीभेग जोड्ने मुख्य मार्ग आर्यभञ्ज्याङ-रामपुर सडक पनि दैनिक ५ घण्टा बन्द गर्ने जनाएको छ ।

हुमिन-ताहुँ देउराली सडक खण्डमा निर्माण व्यवसायीले सडक बन्द गरेर काम गर्न माग गरेपछि राजमार्ग सडक सुरक्षा समितिको बैठकले बन्द गरेर काम गर्न दिने निर्णय गरेको हो ।

बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ । हुमिन-ताहुँ देउराली सडक खण्डमा सडक स्तरोन्नति तथा मर्मत गर्ने काम भइरहेकाले बुधबारदेखि फागुन १६ गतेसम्म सडक बन्द रहने कार्यालयले जनाएको छ । यहाँ सडक चौडा गर्ने र ढुंगामाटो कटिङ गर्न लागिएको हो ।

एम्बुलेन्स, शव वाहन, सुरक्षा, दमकल जस्ता अत्यावश्यक सवारीसाधनलाई समय मिलाएर छाड्ने कार्यालयले जनाएको छ ।

१७ माघ २०८०, बुधबार १६:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading