28, Apr, 2024

झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधान गर्न विद्यार्थी नेताहरू जुट्नुपर्छ: मुख्यमन्त्री कार्की

बागमती भ्वाइस
बागमती भ्वाइस
७ माघ २०८०, आईतवार १६:५८ | ३ महिना अगाडी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विद्यार्थी नेताहरूलाई झण्डा बोक्न र नेताको स्तुतीगान गर्न छोडेर विद्यार्थीको समस्या समाधानका साथै समाज र देश बनाउन जुट्नु पर्ने बेला भएको बताएका छन् ।

पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानका विद्यार्थीहरूले आयोजना गरेको राष्ट्रिय प्रविधि मेला (डेल्टा ४.०)को समापन कार्यक्रममा आइतबार मुख्यमन्त्री कार्कीले विद्यार्थीहरूले अब नेताको पछि लाग्नुभन्दा पनि समाज र देशको लागि काम गरेर नमूना प्रदशर्न गर्नुको विकल्प नभएको बताएका हुन् ।

‘अहिलेका विद्यार्थी समाजिक सञ्जालमा भ्रष्टाचार भयो भनेर लेख्दै चित बुझाइरहेको अवस्थामा परिवर्तन ल्याउनु जरूरी छ,’ उनले भने, ‘समाजिक सञ्जालमा भ्रष्टाचार भएको पोष्ट्याएर फेरि नेताको स्तुति गानमा लाग्ने गरेको देखिन्छ । के स्तुति गान र समाजिक सञ्जालको पोष्टले देश सुध्रिन्छ? देश विकासका लागि एक कदम अगाडि बढेर काम गरेर देखाउनु पर्दैन ?

क्याम्पसलगायतका शैक्षिक संस्थाहरू अहिले ज्ञान बाँड्ने थलो भन्दा पनि सर्टिफिकेट बाँड्ने कार्यालय मात्रै भएको भन्दै मुख्यमन्त्री कार्कीले प्रश्न उठाएका छन् । ‘शैक्षिक संस्थालाई ज्ञानको मन्दिर बनाइराख्न विद्यार्थी नेताको भूमिका खोइ रु, के विद्यार्थी नेताको काम नेताहरूको घर चहार्ने र स्तुतिगान मात्रै हो ?,’ उनले भने,‘अब विद्यार्थीहरू रचनात्मक काममा लाग्नुको विकल्प छैन । क्याम्पसहरूलाई किताबी ज्ञान बाँड्ने थलोलाई अध्ययन र अनुसन्धानमा केन्द्रित गरेर समाज परिवर्तन गर्नु आवश्यक छ ।’

संसारका अधिकांश वैज्ञानिकहरू किताब पढेर र शैक्षिक संस्थामा अध्ययन गरेर नभई समाज तथा प्रकृतिको गहन अध्ययनले वैज्ञानिक भएको सबै विद्यार्थीहरूले पढ्ने गरेको तर त्यसलाई बिर्सेर किताबी ज्ञान मात्रै लपने गरेको दैखेर उदेक लागेको मुख्यमन्त्री कार्कीले बताए ।

समाज, प्रकृति र देश पढ्ने, अध्ययन र अनुसन्धान गरेर देश र समाज परिवर्तनका लागि योगदान गर्ने विद्यार्थीको साथ प्रदेश सरकारको रहने उनले प्रतिबद्धता जनाएका हुन् ।

प्रदेश सरकारले तुइन मैत्री प्रदेश बनाउन ल्याएको योजना सफल बनाउन यस क्याम्पसमा इञ्जिनियरिङ पढ्ने विद्यार्थीहरूसँग सहकार्य गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

उनले आर्किटेक्चर इञ्जनियरहरूलाई प्रदेश निर्माण भइरहेको एकीकृत वस्ती र अब निर्माण हुने त्यस्ता वस्तीहरूको फरक ढंगले प्रदेश सरकारसँगको सहकार्यमा उदाहरणीय डिजाइन गरेर सबै विद्यार्थीलाई प्रतिभा देखाउन आग्रह गरेका हुन् । प्रदेशभरि निर्माण भइरहेका सडक, भवनलगायतका भौतिक संरचनाको प्राविधिकीय दृष्टिकोणले अनुगमन गरेर प्रदेश सरकारलाई प्रदेशमा सुशासन कायम गर्न मुख्यमन्त्री कार्कीले आह्वान गरेका छन् ।

७ माघ २०८०, आईतवार १६:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading