काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन्।
बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बस्न लागेको छ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार यो नियमित बैठक हो।
संसदीय बैठकहरू राखेर झलनाथ खनाल(माधवकुमार नेपाल पक्षका एकरएक सांसद आफूतिर तान्ने प्रधानमन्त्री ओलीको तयारी रहेको स्रोतको दाबी छ। त्यसैकारण प्रधानमन्त्री ओलीले संसदीय बैठक राखिराख्ने उक्त स्रोत दाबी गर्छ।
सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद छ। मुख्यगरी गत फागुन २८ मा अध्यक्ष ओलीले एकलौटी हिसावले निर्णयहरू गरेकोले उक्त निर्णय फिर्ता लिन झलनाथ(माधव पक्षको माग छ।
ओलीले महाधिवेशन तोक्नेदेखि नेकपा माओवादी केन्द्रका २३ जना नेतालाई एमालेको केन्द्रीय सदस्य मनोनित गरेका थिए।
विवाद बढेका बेला झलनाथ-माधव पक्षले बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला गरेको छ। आज पनि भेला जारी रहेकोले संसदीय दलको बैठकमा उपस्थित हुन नसकिने उक्त समूहका नेता तथा सांसदहरूले बताउँदै आएका छन्।








































