काठमाडौं । दुई वर्षअघि तत्कालीन अर्थमन्त्री डा।युवराज खतिवडाले भनेका थिए, ‘नेपालको पुँजी बजार विकास र विस्तारका लागि विदेशी लगानी भित्र्याउनु जरुरी छ । विदेशी लगानीकर्ता तथा गैरआवासीय नेपालीमार्फत पुँजी बजारमा लगानी भित्र्याएर पुँजी बजारलाई वित्तीय र मौद्रिक उपकरणको विस्तार गर्नु पर्ने उनको भनाइ थिए । दक्षिण एसियाली लेखा व्यवसायी महासंघको सम्मेलन उद्घाटन गर्दै २०७५ चैतमा तत्कालीन अर्थमन्त्री खतिवडाले त्यसका लागि सरकारले कानुनी उल्झन फुकाउने बाचा गरेका थिए ।
त्यसको केही दिनमा सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ लाई संशोधन गर्यो र नेपाली पुँजी बजारमा संस्थागत विदेशी लगानीको बाटो खुला गरिदियो । २०७५ चैत्र १३ गते आएको संशोधित ऐनको परिच्छेद २ को दफा ९ ले पुँजी बजारमा संस्थागत विदेशी लगानीलाई खुला गर्यो । उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल यो प्रवधानअनुसार गैरआवासीय नेपालीले पनि सेयर बजारमा विदेशी लगानी ल्याउन सक्छन् । तर ऐन आएको दुई वर्षसम्म नेपालको पुँजी बजारकै लागि भनेरे विदेशी लगानी ल्याउन विभागमा कुनै निवेदन परेको छैन ।
पुँजी बजार सुधारको विभिन्न अभियान अन्तर्गत गैरआवासीय नेपालीसहितको विदेशी लगानीकर्ता भित्र्याउने कार्यलाई प्राथमिकतामा राखेको बोर्डको दाबी छ । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने लक्ष्यकासाथ बोर्डले अध्ययन थालेको बोर्डकी नायव कार्यकारी निर्देशक एवं सूचना अधिकारी दीपा दाहाल बताउँछिन् । ‘हामीले कुन मोडालिटिमा त्यस्ता लगानी भित्र्याउन सक्छौं भन्नेबारे विज्ञलाई अध्ययन गर्न लगाएका छौं, अध्ययन प्रतिवेदन प्राप्त भएपछि प्रक्रियाले थप गति लिन्छ,’ दाहालले भनिन् ।
गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउने सम्बन्धमा यसअघि बनेको आफ्नै नेतृत्वको समिति अहिले भंग भएर नयाँ सिराबाट अध्ययन सुरु भएको बोर्डका कार्यकारी निर्देशक निरज गिरी बताउँछन् । नेपाली पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्न विदेशी लगानी भित्र्याउन जरुरी रहेको उनको भनाइ छ ।
हाल विदेशी लगानी भित्र्याउन समस्या नभए पनि यसको प्रतिफल विदेशी मुद्रामा लैजाने सम्बन्धमा रहेको जटिलता अर्थ मन्त्रालय र राष्ट्र बैंकले खोल्नु पर्ने गिरीको भनाइ छ । पुँजी बजार प्रणालीगतरुपमा सबै खाले लगानीका लागि तयार छ । कार्यविधि बनाएर अनुशासन कायम गर्न पनि सक्ने अवस्थामा छौं तर लगानी भित्रिने बाटो खुल्नुपर्यो,’ उनले बताए।
संस्थागत विदेशी लगानीभन्दा पनि गैरआवासीय नेपाली छिटो पुँजी बजारमा ल्याउने गरी काम गर्न बोर्ड आतुर रहेको गिरीको दाबी छ । पुँजी बजारमा विदेशी लगानीका फाइदा र बेफाइदा दुवै भए पनि अधिकतम् फाइदातर्फ सोच्नु पर्ने उनी बताउँछन् ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको संशोधन गरेर पुँजी बजारमा संस्थागत विदेशी लगानी भित्र्याउने बाटो खुला गरिए पनि व्यक्तिगत लगानी भने अहिलेसम्म बन्देज नै छ । कानुनले अनुमति दिए पनि हालसम्म संस्थागतरुपमा पनि विदेशी लगानीकर्ताहरुले चासो नदिएको उद्योग विभागले जनाएको छ ।
बजारमा संस्थागत विदेशी लगानीलाई खुला गरेको र यसमा गैरआवासीय नेपालीको लगानी पनि पर्ने भए पनि हालसम्म कुनै आवेदन नपरेको विभागका महानिर्देशक जीवलाल भुसालले बताए । ‘ऐनको प्रवधानअनुसार विदेशी मुद्रामा लगानी भित्र्याएर पुँजी बजारमा लगानी गर्न सकिन्छ,त्यस्तो प्रस्ताव आए मात्रै थप सहजीकरण गर्ने हो तर हालसम्म कुनै प्रस्ताव आएको छैन् महानिर्देशक भुसालले बताए ।
लगानीको प्रस्ताव नआएका कारण पनि नियमनको कार्यविधि तथा प्रतिफल फिर्ता सम्बन्धमा नियमनकारीसंग कुनै छलफल नगरिएको उनको भनाइ छ । पुँजी बजारका लागि ऐनले तोकेको ढाँचामा कुनै पनि खाले निवेदन परे त्यसलाई सहजीकरण गरिने महानिर्देशक भुसालले बताए । पुँजी बजारमा गैरआवासीय नेपाली वा विदेशीमार्फत विदेशी लगानी भित्र्याउने सम्बन्धमा छलफल भएकोबारे आफूलाई जानकारी नभएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख बमबहादुर मिश्र बताउँछन् ।
नेपाल जस्तो अस्थिर पुँजी बजार भएको मुलुक र अर्थतन्त्रको वर्तमान चरित्रले पुँजी बजारमा विदेशी लगानीको अवस्था कठिन रहेको उनको बुझाइ छ । भारतसंगको विनिमयदर स्थिर रहुनु, अर्थतन्त्र आयातमा निर्भर रहनु, विदेशी मुद्राको सञ्चती लगानीकर्ताले प्रतिफल लैजान सक्ने अवस्था अनुकुल नहुनु र बढ्दो व्यापार घाटाले यसमा अनुकुलता देखिदैंन, मिश्रले भने । तर थप छलफल र गृहकार्यले यसलाई प्रंष्ट्याउन भने सकिने उनको भनाइ छ ।
सरकारले ऐनमार्फत पुँजी बजारलाई विदेशी लगानीको क्षेत्रको रुपमा खुला गरेको भएपनि यससँग सम्बन्धित नियमावली र कार्यविधि नबन्नु प्रमुख कारण भएको लगानीकर्ताहरु बताउँछन् । विदेशी लगानीकर्ताभन्दा पनि पुँजी बजार प्रवेशका लागि चासो देखाएको गैरआवासीय नेपाली लगानीकर्ताहरु समेत कानुनी उल्झन कै कारण लगानी ल्याउने अन्यौलमा परेको सेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महाँघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल बताउँछन् ।
पुँजी बजारमा तत्काल गैरआवासीय लगानीकर्ता भित्र्याउन सकिन्छ र यसले बजार थप फष्टाउने सम्भव छ तर काम केही गर्न बाँकी छ,’ सभापति पौडेलले भने । नेपालको पुँजी बजार गैरआवासीयसहित विदेशी लगानीलाई स्वागत गर्न तयार रहेको नेपाल धितो पत्र दलाल संघका निर्वतमान अध्यक्ष भरत रानाभाट बताउँछन् ।
नेपाली नागरिकता भएका र नेपालमा बैंक खाता रहेका गैर आवासीय नेपालीले दोस्रो बजारमा लगानी गरेको हुन सक्ने भए पनि विदेशी मुद्रा ल्याएर लगानी गर्ने र प्रतिफल फिर्ता गर्ने कानुनी बाटो नभएको रानाभाटले बताए । ‘हामी प्रणालीगतरुपमा पनि अब तयार छौं, अनलाइन कारोबार प्रणालीले थप सहज भएको छ । सेयर बजारमा विदेशी लगानी भित्रिदा बजार विस्तार त हुन्छ नै मुलुकको नयाँ आम्दानीको बाटो पनि थपिन्छ,’ रानाभाट भन्छन् । तर पुँजी बजारकै लागि विदेशी मुद्रामै लगानी भित्र्याउने र नाफा लैजानेबारे स्पष्ट कानुनी सुधारको बाटो बाँकी रहेको उनको भनाइ छ ।
नेपानलको सेयर बजारमा विदेशी लगानी भित्र्याउने सम्पूर्ण आधार बनेको पूर्व बैंकर एवं सेयर बजार विश्लेषक अनलराज भट्टराई बताउँछन् । सन् २००३ देखि २०१८ सम्म १५ वर्षमा नेपालमा भित्रिएको गैरआवासीय नेपालीको लगानीले प्रतिफल पाइन्छ भन्ने आधार बनेको र दोस्रो चरणमा संस्थागत लगानीमार्फत म्युचल फण्डमा अहिले लगानीको वातावरण बनिरहेको भट्टराई बताउँछन् । एनआरएन डेभलपमेन्ट फण्डको अवधारण सोही योजानअनुसार आएको र यसमा झण्डै १३ लाख प्रवासी नेपालीहरुले १० अर्ब लगानी गर्ने उनले बताए ।
पहिलो चरणमा नेपालमा लगानी गर्दा प्रतिफल पाइन्छ भन्ने निश्चितता दिएपछि पहिलो चरणमा नेपाली मुलका विदेशीको लगानी भित्र्याउने, दोस्रो चरणमा गैरआवासीय नेपाली र तस्रो चरणमा उनीहरुको परिचालनमार्फत पुँजी बजारमा विदेशी लगानी भित्र्याउने वातावरण छिट्टै बन्ने उनले बताए । ‘हामीले घरको संरचना निर्माण गरिसकेका छौंं, अबको केही समयमा झ्याल ढोका राखेको द्दर तयार हुन्छ, भट्टराईले भने । लगानी भित्र्याएपछि त्यसको प्रतिफल लैजाने विषय विगतमा पनि समस्या नरहेको र अब पनि नहुने उनको भनाइ छ ।









































