26, Apr, 2024

हामीले विश्वासको मत पाउँछौँ, यो सरकार पाँच वर्ष सम्मै चल्छ : सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह

Bagmati Voice
संवाददाता
८ फाल्गुन २०७९, सोमबार ०९:३० | १ साल अगाडी

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र आफूले पाउने दाबी गरेका हुन् ।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’ उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ।’ उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने बताए । ‘ निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,’ उनले भने।

पुस २७ गते एमाले संसदीय दलका नेता मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले ३० दिन भित्र विश्वासको मत नपाएपछि पुस २६ गते संविधानको धारा १६८ उपधारा ३ अनुसार कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि अहिले सम्म विश्वासको मत लिएका छैनन् । तर, उनले केही दिन भित्र विश्वासको मत पाउने दाबी गरेका हुन् ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्रीले दौडधुप बढाएका छन्।

८ फाल्गुन २०७९, सोमबार ०९:३० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading