26, Apr, 2024

सातै प्रदेशमा गठबन्धनबीच आलोपालोको सहमति भएको बालकृष्ण खाणको खुलासा

Bagmati Voice
संवाददाता
२६ चैत्र २०७९, आईतवार १४:२३ | १ साल अगाडी

जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सबै प्रदेशमा नेतृत्व (मुख्यमन्त्री) आलोपालो गर्ने गठबन्धनमा सैद्धान्तिक सहमति भएको खुलासा गरेका छन् ।

जनकपुरधाममा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता खाणले कुन प्रदेशमा को नेतृत्व गर्ने कुराको टुंगो उपनिर्वाचनपछि लाग्ने बताए । उपनिर्वाचनपछि सातवटै प्रदेश सरकार पुनर्गठन हुने र सत्ता गठबन्धन रहेका दलहरू सहभागी हुने उनको भनाई थियो ।

मधेसमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव छन् । उनी बाराका हुन् । बारा २ मा उपनिर्वाचन हुन लागेको छ र जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार छन् ।

जसपाबाट बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बने । स्रोतका अनुसार उपराष्ट्रपति र बारा २ क्षेत्र जसपालाई छाड्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने ‘गोप्य सहमति’ भएको चर्चा छ ।

तर, कांग्रेस नेता खाणले आज मधेसकै राजधानी जनकपुरधाम आएर सबै प्रदेशको नेतृत्व आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको बताए । उनले गरेको दाबी अनुसार उपनिर्वाचनपछि मधेसको नेतृत्व कांग्रेसले पाउने निश्चित छ ।

मधेसमा कांग्रेस दोस्रो ठूलो दल पनि हो । कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले समेत मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताइसकेका छन् । कांग्रेस अहले मधेश सरकारमा सहभागी छैन ।

स्रोतका अनुसार जसपा र कांग्रेस नेतृत्व तहमा भएको सहमतिअनुसार अहिले नेतृत्व परिवर्तन गर्दा बारा २ को उपनिर्वाचनमा उपेन्द्र यादवलाई असर पर्न सक्छ । त्यसैले उपनिर्वाचनपछि जसपाले मुख्यमन्त्री सरोज कुमार यादवलाई फिर्ता बोलाएर मधेसको नेतृत्व कांग्रेसलाई सुम्पिने स्रोतको दाबी छ ।

२६ चैत्र २०७९, आईतवार १४:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading