27, Apr, 2024

सत्ता टिकाउन बागमतीमा पुनः मन्त्रालय बढाइने

Bagmati Voice
संवाददाता
७ जेष्ठ २०८०, आईतवार १३:५७ | ११ महिना अगाडी

हेटौंडा । मुख्यमन्त्री नियुक्त हुँदा १४ मन्त्रालयको संख्या कटौती गरेर बढीमा ११ मा कायम गर्ने आफ्नो पहिलो निर्णयलाई लत्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सरकार विस्तारसँगै मन्त्रालयको संख्या बढाउने भएका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ८ वटा मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि ११ बाट १२ मन्त्रालय बनाएर आज सरकार विस्तारको तयारी गरिएको छ । आज हुने सरकार विस्तारमा कांग्रेसबाट ४ तथा एकीकृत समाजवादीबाट २ गरी थप ६ जनाले सपथग्रहण गर्नेछन् ।

कांग्रेसबाट यसअघि संसदीय दलका नेता बहादुरसिंह लामा र तीर्थ लामाले मन्त्रीको जिम्मेवारी पाइसकेका छनर । अब रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी तथा मसिना खड्काले मन्त्री पदको सपथ लिने कांग्रेस निकट स्रोतको दाबी छ ।

एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल र डा. राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्ने लगभग पक्का रहेको बताइएको छ ।

आज दिउँसो ४ बजेभित्र नयाँ मन्त्रीहरुको सपथग्रहण हुने बागमती प्रदेश कार्यालय स्रोतको भनाइ छ । सरकार विस्तार हुने भएपछि प्रदेश कार्यालयका कर्मचारी सपथग्रहणको तयारीमा जुटेका छन् ।

कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी नछाडेपछि शुक्रबार साँझ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको बैठकबाट मन्त्रालय फुटाएर भए पनि कांग्रेस र एकीकृत समाजवादीले दाबी गरेको मन्त्रालय दिने सहमति भएको बुझिएको छ ।

कुनै पनि हालतमा मन्त्रालय बढाउन नसकिने अडानमा रहेका मुख्यमन्त्री जम्कट्टेल प्रचण्डको निर्देशनपछि गलेका छन् । जसअनुसार उनी आफ्नै भागमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारीमा छन् ।

आज हुने सरकार विस्तारसँगै मुख्यमन्त्रीसहित माओवादी केन्द्रको भागमा ४ मन्त्रालय हुनेछ भने कांग्रेसको भागमा ६ र एकीकृत समाजवादीको भागमा दुई वटा मन्त्रालय हुनेछन् ।

मन्त्रालय दाबी गरिरहेको अर्को दल हाम्रो नेपाली पार्टी भने सरकार बाहिर रहने भएको छ ।

७ जेष्ठ २०८०, आईतवार १३:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading