26, Apr, 2024

हिजो खराब भनेको मान्छे आज असल हुने कुरै छैन, चुनाव मै जित्छुः भानुभक्त ढकाल

Bagmati Voice
संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार ०९:३३ | १ साल अगाडी

विराटनगर । २०७४ सालको निर्वाचनमा वामगठबन्धनबाट मोरङ क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार भानुभक्त ढकालले कांग्रेसका सुनिल शर्मालाई हराए । तेह्रथुमबाट मोरङलाई कार्यक्षेत्र बनाउन झरेका ढकाललाई विपक्षीले त्यो बेला ‘टुरिष्ट’ उम्मेदवार भन्दै प्रचार गरेका थिए ।

चुनाव जितेपछि ढकाल कानून र स्वास्थ्यमन्त्री बने । स्थायी बसोबास मोरङ नै सारे । उनी अहिले बितेका ५ वर्षमा मोरङको बेलबारी, पथरी, सुन्दर हरैँचा र कानेपोखरी क्षेत्रमा आफूले गरेका कामको फेहरिस्तसहित मतदातामाझ पुगेका छन् ।

उनीसँगै पुन: मैदानमा छन् सत्तागठबन्धनबाट सुनिल शर्मा । साथमा अभिनेत्री रेखा थापा राप्रपाबाट चुनावी प्रतिस्पर्धाका लागि यही क्षेत्रमा छिन् । सेलिब्रेटीको प्रवेश र राप्रपामा पछिल्लोपटक बढ्दै गरेको क्रेजले मोरङ ३ मा यो पटक त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।

– तपाँइको जितको आधार के हो ?

मेरो जितको आधार भनेको जनसमर्थन हो । हाम्रो पक्षमा रहेको जनमत र पार्टीले लिएको नीति पनि मेरो जितको आधार हो । यस क्षेत्रमा एमालेको संगठन सबैभन्दा बलियो हो । स्थानीय तहको निर्वाचनमा यसक्षेत्रका सबै पालिकामा प्रमुख पद एमालले जितेको छ ।

हामीले निर्वाचन जितेपछि यस क्षेत्रमा विकासका धेरै काम गरेका छौं । सुकुम्बासी समस्या समाधान गराउन हाम्रै सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएका थियौं । यही आयोगले गरेको कामका आधारमा अहिले सुकुम्बासीहरूले धनीपुर्जा पाउन थालेका छन् । हाम्रै सरकारमा भएका कामका कारण अब यस क्षेत्रका सुकुम्बासीहरू जग्गाको धनी हुने छन् ।

हाम्रो पार्टीले लिएको जनताको बहुदलीय जनवाद, साम्यवादसँगै जनवादसम्म पुग्ने हाम्रो लक्ष्य जनताले मन पराउनु भएको छ । गठबन्धनजस्तो लक्ष्य नभएको पार्टी हाम्रो होइन । यो कुरा मतदाताले बुझ्नुभएको छ । हामीले लिएको राष्ट्रियताको नीति र विकासको लक्ष्यलाई कार्यान्वयनमा लैजाने दृढ संकल्पित केपी ओलीको नेतृत्व अहिले नेपाली जनताले चाहेको विषय हो । केपी ओलीलाई भावी प्रधानमन्त्री बनाउन संघमा आफूलाई र प्रदेशमा अरु दुईजनाले जित्नेमा म विश्वस्त छु ।

– अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा गर्दै गर्दा गरेका वाचा पूरा भएनन् भन्ने जनताको गुनासो पनि कतैकतै सुनिन्छ नि ?

विगतमा हामीले बहुमतको सरकार हामीलाई दिनुस्, राष्ट्रको समृद्धि र विकासको निम्ति धेरै काम गर्छौं भनेर हामीले भनेका थियौँ । जनतासँग भएको वाचाअनुसार जनताले दिएको मतलाई हामीले जनताको पक्षमा सदुपयोग नै गरेका छौं । संविधान निर्माणको ५ वर्ष हामीले संघीयताको जग बसाउँदै संविधानलाई कार्यान्वयनमा लगेका छौं । त्यसैको लागि मेरो कार्यकालमा मैले १३९ वटा कानून निर्माण गरे । १६ वटा मौलिक हकहरूसम्बन्धी कानुनहरू बनायौँ । यो सानो काम हैन । कानून निर्माणसँगै जनताको विकास पनि जोडिएको छ ।

मैले त्यो बेला मतदातासँग गरेको प्रतिबद्धताअनुसार सुकुम्बासी समस्या समाधानका लागि कानुन बनाएर कार्यान्वयनमा लान्छु भनेको थिएँ । आयोग बनेर देवी ज्ञवालीको अध्यक्षतामा धेरै कामहरू हुँदै थिए । सरकारको हेरफेरले जग्गाधनीपुर्जा वितरणमा अवरोध भयो । अब बाटो खुलेको छ, त्यो कार्यान्वयनमा जाँदैछ । भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन कानून निर्माण गर्ने कामहरू पनि हाम्रो कार्यकालमा भएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्न कानून निर्माण गरी स्थानान्तरण गर्ने काम भएको छ । निर्वाचन क्षेत्रमा पर्ने डाँस, लोहन्द्रासहितका ४ वटा खोलाले हरेक वर्ष कटान गर्ने र ठूलो क्षति हुने गरेकोले त्यसको रोकथामको लागि बहुवर्षीय कार्यक्रमको रूपमा तटबन्ध निर्माणको काम भएको छ ।

सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने कुरालाई पूर्णता दिन सुन्दर हरैँचामा नै २५ करोड बजेट विनियोजन गरेर सरुवा रोग अस्पताल बनाउने कामको शिलान्यास गरिएको छ । मुलुकलाई अप्ठेरो परेको बेलामा कोभिड संक्रमणको विरुद्धमा चलाएको कदम, ३९७ पालिकामा एकैदिन अस्पतालको शिलान्यास र निर्माणको कामहरू अहिले भइरहेका छन् । बाटोघाटो र सडक निर्माणको कामहरू पनि भएको छ ।

यीबाहेकका धेरै विकास निर्माणका कामहरू पूरा भएका छन् । विकास निर्माणका कामहरू स्थानीयको माग र आवश्यकताका आधारमा छनौट भएका योजनाहरूलाई स्वीकृति प्रदान गरेर कार्यान्वयनमा गएका छन् । हिजोको निर्वाचनमा बोलेका र उठाएका कामहरू मैले पूरा गरेको छु ।

– सत्तागठबन्धनका प्रतिस्पर्धी त एमाले कानून र संविधानको खिलाफमा उत्रिन्छ भनिरहेका छन् । यहाँले हामीले कानून बनाएका छौं देश समृद्धिमा लान्छौं भन्नुहुन्छ ?

भन्नेलाई भन्न दिनुस् । हामीले के गर्‍यौं भन्ने कुरा जनताले बुझेका छन् । जब अदालतबाट परमादेशको भरमा सेटिङ गरेर सरकार बन्यो त्यसपछि विकास निर्माणका कामहरू ठप्प भएका छन् । मुलुक अस्थिरतातर्फ अघि बढेको छ । विकास, निर्माण, नागरिकका समस्यालाई सम्बोधन गर्ने कुरा या समृद्धिका कुरा भन्दापनि विदेशीको कन्फरटेवल सरकार बनाउने भन्ने कुरा सत्ता गठबन्धनकै नेताहरूले भनेको कुराले पनि पुष्टि गरेकै छ ।

केपी ओली प्रधानमन्त्री भएको बेला विकास निर्माणलगायतको क्षेत्रमा कतै रकम पुगेन भन्ने अवस्था आएन । अबको ५ वर्ष एमालेले केही गर्छ भन्ने कुरालाई पनि एमालेले आफ्नो घोषणापत्रमार्फत सार्वजनिक गरिसकेको छ ।

जनताले एकपटकलाई बहुमत दिएको भएपनि दलहरूभित्र अस्थिरता रह्यो, विभिन्न शक्तिकेन्द्रले पार्टीभित्रको अस्थिरतालाई उपयोग गरी पार्टी विभाजन गर्नेसम्मको कामहरू गरे । अब हिजोको भन्दा निक्कै सुदृढ र एकताबद्ध रूपमा एमालेको एकल बहुमतको सरकार बनाइयो भनेमात्र अस्थिरताको अन्त्य हुन्छ । राष्ट्रको जितका लागि सूर्य चिन्हले जित्नुपर्छ । समृद्धिका लागि एमाले चाहिन्छ, भानुभक्त ढकाल चाहिन्छ । प्रदेशमा किशोर र ज्ञानेन्द्र सुवेदी चाहिन्छ ।

नेकपा एमालेप्रति जनताका उत्साह पाएको छु । स्थिर सरकार जनताले चाहेका छन्, विकासको लहर एमालेले नै ल्याउँछ भन्ने जनताले भावना मैले पाएको छु । समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकार होस्, जनता र राष्ट्रको हितमा लाग्न सक्ने नेतृत्व गर्ने नेता र नीति भएको पार्टीको बहुमत होस् भन्ने खालको मनोविज्ञान नै मूलभुत रूपमा हामीले पाएका छौँ ।

– गठबन्धनका उम्मेदवारलाई कसरी लिनुभएको छ ?

जनता र राष्ट्रको पक्षमा रहेका शक्तिविरुद्ध गठबन्धन भएको छ । अहिलेसम्म आउँदा गठबन्धन पनि रहेन । अहिले उपेन्द्रजी बहिरिनु भएको छ । जनमोर्चा पनि दुई सीट लिएर लडेको देखिन्छ । कांग्रेसको नेतृत्वमा उग्रवामपन्थी धारले नेतृत्व गरिरहने, एमालेभित्र एमालेलाई कब्जा गरेर कम्युनिष्ट आन्दोलन समाप्त पार्ने ध्येयका साथ लाग्नु भएका केही व्यक्तिको गुट गठबन्धनको पक्षमा रहेको छ । तर, आम मतदाता गठबन्धनको पक्षमा देखिनुभएको छैन ।

यही क्षेत्रमा हेर्दा अघिल्लोपटक म साझा उम्मेदवारको रूपमा नै आएको थिएँ आजपनि उम्मेदवार भएर आएको छु । मतदाताहरू हिजो जस्तो रूपमा बुझ्नु हुन्थ्यो आज पनि यो राम्रो छ है भनेर लाग्नुभएको छ । हामीले उहाँहरूसँग जे वचन बद्धता गरेका थियौँ यो ५ वर्षमा ती वाचा पूरा गरेका छौँ । जे भन्यो त्यो कुरा पूरा गर्ने उम्मेदवारलाई छोडेर अर्को अरु उम्मेदवारलाई खोज्न किन जानू ? हिजो त्यही मान्छे खराब आज त्यही मान्छे कसरी राम्रो भन्ने प्रश्न पनि छ ।

जनाधारको हिसाबले मोरङ त्यसमा पनि क्षेत्र नम्बर ३ वामपन्थीहरूको अति नै प्रभावित क्षेत्र हो । जनबोलीमा यो क्षेत्रलाई लालकिल्ला पनि भन्दै आएको अवस्था छ ।

२५ कार्तिक २०७९, शुक्रबार ०९:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading