26, Apr, 2024

अछाम १ मा उम्मेदवार नै एमालेमा प्रवेश

Bagmati Voice
संवाददाता
१८ कार्तिक २०७९, शुक्रबार १६:०६ | १ साल अगाडी

कैलाली । अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै देवबहादुर कुँवर, मीनबहादुर कुँवर, राधिका भुजेल, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार-प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका हुन् ।

‘सत्य र शक्ति एमालेमा मात्रै छन्, आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा छन्’, उनले भने ‘मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव छ त्यसैले आजैबाट एमालेमा समाहित भए ।’

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने जनाए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताएका थिए । परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्ने समेत विश्वास व्यक्त गरेका थिए ।

यहाँ नेकपा एमालेबाट बोहरा उम्मेदवार बन्दा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिस्पर्धामा छन् । अन्य केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

१८ कार्तिक २०७९, शुक्रबार १६:०६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading