29, Apr, 2024

प्रदीप पौडेलले सुकुम्बासी बनेर सरकारी जग्गा बाबुको नाममा दर्ता गरेको खुलासा

Bagmati Voice
संवाददाता
२८ कार्तिक २०७९, सोमबार ०८:२८ | १ साल अगाडी

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले तनहुँमा सरकारी जग्गा आफ्नो बाबुको नाममा दर्ता गरेको रहस्य सार्वजनिक भएको छ ।
तनहुँको दुलेगौंडाबाट ढोरफिर्दी हुँदै स्याङ्जा जाने सार्वजनिक सडक र आसपासको जग्गा प्रदीप पौडेलले आफ्नो सहोदर बाबु डिल्लीरमण पौडेलको नाममा दर्ता गरेको तथ्य सार्वजनिक भएको हो । साविक ढोरफिर्दी गाविस वडा नम्बर ३ गणपति बजार नजिकै पर्ने हालको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ स्थित नक्सा नम्बर ३ ‘ख’ को कित्ता नम्बर १३९१ को एक रोपनी जग्गा प्रदीपले बाबुका नाममा दर्ता गराएका हुन् । प्रदीपले उदयराज गौलीको नेतृत्वमा २०५२ सालमा बनेको सकुम्बासी आयोगबाट घरनजिकैको यो जग्गा हड्पेका हुन् ।

२०४५ सालतिर नै यो सडक बनिसकेको थियो । तर, सडकको आसपासको जग्गा करोडौं पर्ने लोभले उनीहरुले सडक र वरपरको जग्गा २०५२ सालमा सुकुम्बासी आयोगबाट आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् । स्थानीय बासिन्दाका अनुसार, प्रदीपका बाबु शिक्षक थिए । उनीहरु सुकुम्बासी होइनन् । तर, काँग्रेसका नेता गौली सुकुम्बासी आयोगको अध्यक्ष भएका बेला उनीहरुले सरकारी जग्गा आफ्नो नाममा दर्ता गर्न सफल भएका हुन् ।

प्रदीप र उनका बाबु यस्तै बदमासीका कारण तनहुँमा बदनाम छन् । प्रदीप २०७४ सालको निर्वाचनमा माओवादीकी सामान्य नेता आशा कोइरालासँग प्रदेश सभामा पराजित भएका थिए । २०७९ सालमा पनि प्रदीप चुनाव लड्न चाहन्थे । तर, प्रदीपको छवि तनहुँमा राम्रो नभएका कारण काँग्रेसले तनहुँ क्षेत्र नम्बर २ मा शंकर भण्डारीलाई उम्मेदवार बनाएको छ । जबकी शंकर तनहुँ क्षेत्र नम्बर १ का नेता हुन् । तनहुँमा टिकट नै नपाएपछि प्रदीप यतिबेला उछिट्टिएर काठमाडौं क्षेत्र नम्बर ५ मा आइपुगेका छन् ।

काँग्रेसका प्रभावशाली डा. प्रकाशशरण महत समेत चुनाव लड्न डराएर समानुपातिकमा बसेका बेला प्रदीपका लागि काठमाडौं क्षेत्र नम्बर ५ मा चुनाव जित्ने कुनै सम्भावना नै नभएको बताइन्छ । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रदीपले बनाएको घरको बारेमा समेत प्रश्न उठेको छ । अहिलेसम्म कुनै पनि लाभको पदमा नबसेका र कुनै रोजगारी पनि नगरेका प्रदीपले काठमाडौंमा बनाएको घर र सम्पत्तिका बारेमा स्वयम् तनहुँका निवर्तमान श्रममन्त्री एवं तनहुँका नेता किसान श्रेष्ठले पत्रकार सम्मेलनले नै गरेर प्रश्न उठाएका थिए ।

प्रदीपले चर्चा चर्का चुनावी नारा लगाए पनि उनको विगत त्यति राम्रो छैन् । मानव तस्करीमा रहेका कास्कीका एक जना व्यक्तिको मुख्य सहयोगी भएका कारण प्रदीपलाई २० घण्टा थुनामा राखेर जापानको अध्यागमनले २०७४ असोज १ गते प्रदीपलाई नेपाल डिपोर्ट गरिदिएको थियो ।

प्रदीप पौडेलको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई अंगभंग हुने गरी कुटपिट समेत भएको थियो । प्रदीप उम्मेदवार भएपछि चलाउनेले ट्वीट गर्दै गुण्डाको संरक्षण, अपराधको राजनीतिकरण गर्नमा माहिर प्रदीप पौडेलले सदाचारको पाठ कसरी पढाउन सकेको भनेर प्रश्न उठाएका छन् ।

२८ कार्तिक २०७९, सोमबार ०८:२८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading