20, Jun, 2024

अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ४.८७ प्रतिशतमा सीमित, कसरी गर्ने लगानीकर्ता आकर्षित?

बागमती भ्वाइस
बागमती भ्वाइस
२३ बैशाख २०८१, आईतवार १५:२० | १ महिना अगाडी

काठमाडौ । काठमाडौ नेपालको अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान हरेक वर्ष घट्दो क्रममा देखिएको छ।

कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ प्रयोग वा प्रशोधन गरेर मालवस्तु उत्पादन गर्ने उद्योगहरू उत्पादनमूलक उद्योगमा पर्छन्। यस्ता उद्योगको उत्पादन बढाउँदै जादा रोजगारी बढाउन र व्यापार सन्तुलन कायम गर्न सहयोग पुग्ने भएकोले पनि सरकारले प्राथमिकतामा राखेको छ।

तर, चालु वर्षमा अनुमान गरिएको ५७ खर्ब चार अर्बको अर्थतन्त्र (प्रचलित मूल्यमा)मा उत्पादनमूलक उद्योगको योगदान जम्मा ४.८७ प्रतिशतमा सीमित छ।

सरकारले पछिलो पाँच वर्षमा औसत ९.६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो भने। आर्थिक वर्ष २०८०/८१ सम्म उद्योगको योगदान ६.५ प्रतिशत पुग्ने आकलन गरिएको थियो।

यस्तो लक्ष्य १५औं अधावधिक योजनाको (२०७५/७६–२०८०/८१) हो। तर, यो पाँच वर्षमा औसत आर्थिक वृद्धिदर २.७८ प्रतिशत मात्रै पुगेको छ। लक्ष्यको तुलनामा निकै कम आर्थिक वृद्धि हुँदा पनि उद्योगको योगदान थप घटेको छ।

पछिल्लो पाँच वर्षमा वार्षिक उत्पादनमूलक उद्योगको वृद्धिदर ०.५५ प्रतिशत पुगे पनि अर्थतन्त्रमा योगदान भने घटेको छ। आर्थिक वर्ष २०७५/७६ को अर्थतन्त्रमा उत्पादनमूलक उद्योगको योगदान ५.६ प्रतिशत थियो।

उत्पादनमूलक उद्योग बढ्दा धेरै समस्याहरू एकै पटक समाधान हुने बताइन्छ। विशेषगरी रोजगारी सिर्जनामा यसको योगदान ठूलो हुन्छ। धेरै मात्रामा रोजगारी सिर्जना उत्पादनमूलक उद्योगले गर्न सक्छन्। त्यस्तै व्यापार घाटा घटाउन, विदेशी मुद्राको सञ्चिती बढाउन, आर्थिक साख बढाउन पनि उत्पादनमूलक उद्योगले सहयोग गर्ने गर्छन्।

अहिले नेपालको ५७ खर्बको अर्थतन्त्रमा उद्योगले जम्मा दुई खर्ब ४६ अर्ब समेटेको छ। चालु वर्षमा सात खर्ब २६ अर्बको मध्यवर्ती सामानहरूको प्रयोग गरेर १० खर्ब ११ अर्ब औद्योगिक उत्पादन हुने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार पछिल्लो १५ वर्षमध्ये आर्थिक वर्ष २०६९/७० मा उद्योगको योगदान सबैभन्दा धेरै पुगेको थियो। त्यो आर्थिक वर्षमा ६.३ प्रतिशतको योगदान देखिन्छ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा उद्योगी शेखर गोल्छा उत्पादनमूलक उद्योगमा लगानीकर्ताको आकर्षण बढ्न नसकेको कारण उद्योगको हिस्सा बढ्न नसकेको बताउँछन्।

उनले कतिपय क्षेत्रमा आकर्षण बढाउन सकिने आधार भएर पनि वातावरण सिर्जना हुन नसकेको बताए। उनले उद्योग सिर्जना हुन नसक्नु उद्योगको योगदान नबढ्नुमा निजी क्षेत्रको दोष नरहेको बताए।

‘अहिले पनि निजी क्षेत्रको चरित्र बुझ्न सकेको पाइँदैन। पहिले यसको चरित्र थाहा पाउँनु पर्‍यो,’ गोल्छाले भने, ‘निजी क्षेत्र नाफामूलक हुन्छ, उद्योगको लागि गर्दा बढी नाफा हुन्छ भन्ने हुँदा यो क्षेत्रमा आकर्षण बढ्ने हो, तर, यहाँ त्यस्तो वातावरण सिर्जना गर्न सकेको पाइँदैन।’

उनले विभिन्न कारणले गर्दा नेपाली उद्योगको उत्पादन लागत बढी हुनु पनि निजी क्षेत्र आकर्षित हुन नसक्नुको कारण भएको बताए। तर कतिपय क्षेत्रमा लागत घटाउने तथा लगानीकर्तालाई आकर्षित गर्न सकिने बताउँछन्।

‘हामीले स्वीकार्नु पर्छ हाम्रो लागत बढी छ। प्रतिस्पर्धा गर्न सहज छैन। तर कतिपय क्षेत्रमा हामी तुलनात्मक रूपमा कम लागतमा उत्पादन गर्न सक्छौँ। यी विषय पहिचान गर्न आवश्यक छ,’ गोल्छाले भने, ‘तयारी वस्तु र कच्चापदार्थ बीचको भन्सार अन्तर गरेर, सस्तो दरमा विद्युत उपलब्ध गराएर, उत्पादनलाई प्रोत्साहित गर्ने गरी श्रम नीतिहरू परिवर्तन गरेर पनि हामी प्रतिस्पर्धी बन्न सक्ने आधारहरू छन्।’

राष्ट्रिय योजना आयोगमा पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल सरकार र सरकारको सेवाप्रति विश्वास बढ्न नसकेको कारण उत्पादनमूलक क्षेत्रको उत्पादन बढ्न नसकेको बताउँछन्। उनले उद्योगमा लगानी गर्दा उद्योगीले बढी जोखिम देख्ने तर नाफाको सुनिश्चितता गर्न नसक्ने कारणले पनि समस्या भएको बताए।

‘कुनै पनि उद्योग विस्तार गर्नु आफैँमा ठूलो चुनौती बन्दै गएको छ। उद्योग खोलेर पनि अपेक्षित नाफा लिन नसकेको निजी क्षेत्रको बुझाइ छ,’ पोखरेलले भने, ‘सुशासन नदेखिनु, सरकारप्रतिको विश्वास बढ्न नसक्नु र सरकारी नीतिको स्थिरता नहुनु उद्योगीहरू आकर्षिक नहुनका मुख्य कारण हुन्।’

पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली कमजोर पूर्वाधार र अस्थिर नीति नेतृत्वको असर उत्पादनमूलक उद्योगमा परेको तर्क गर्छन्।

‘न्यूनतम पूर्वाधार विकास गरेको कारण सिमेन्ट क्षेत्रले ठूलो फड्को मार्‍यो, अन्य क्षेत्रमा पनि यस्तो पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने हुन्छ,’ ज्ञवालीले भने, ‘जग्गा, बाटो, ढल, पानी र विद्युत जस्ता विषय सरकारसँग जोडिन्छ। यी विषय सहज हुँदा औद्योगिक वातावरण बनाउन सहयोग पुग्छ।’

उनले अर्थतन्त्रको आकारमा उद्योगको योगदान घट्नुले नकारात्मक सन्देश मात्रै नदिने तर्क गर्छ। उनले उद्योग कृषिको सट्टा अहिले सेवा क्षेत्रको उत्पादन बढेको कारण यसलाई सकारात्मक रूपमा लिनु पर्ने बताए।

‘अहिले आइटी क्षेत्र विस्तार भएको छ, लगानीकर्ता सेवा क्षेत्रमा आकर्षित भएको देखिन्छ, यसलाई सकारात्मक रूपमा नै लिनु पर्छ,’ ज्ञवालीले भने।

उद्योग तथा व्यापार क्षेत्रमा जानकार पूर्व सचिव ज्ञवालीले उद्योगको योगदान कम भएको तर आयात व्यापार निकै बढेको विषयलाई अवसरका रूपमा विदेशी तथा स्वदेशी लगानी बढाउन सकिने बताए।

२३ बैशाख २०८१, आईतवार १५:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading